सात प्रदेशका सात गन्तव्य

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल चिनाउन सगरमाथा र लुम्बिनी नै काफी छ । यद्यपि ठमेल, पोखरा र चितवनको जंगल सफारीले पनि धेरै हदसम्म नेपाललाई विश्व बजारमा चिनाएको छ । र, लामो समयदेखि यी सीमित गन्तव्य मात्रै नेपाल प्रवद्र्धनको माध्यम बन्दै आएका छन् । नेपाल संघीय राज्य व्यवस्थामा प्रवेश गरिसकेको छ । सातवटै प्रदेशमा स्वायत्त सरकारहरू गठन भएर काम पनि थालिसकेका छन् ।
तर, यी प्रदेशको चिनारी पर्यटनका माध्यमबाट हुने अवस्था अझै आइसकेको छैन । त्यसैले सरकारले हरेक प्रदेशको चिनारीस्वरूप सातवटै प्रदेशमा एकरएक नमुना पर्यटकीय गन्तव्य निर्माण र विकास गर्दै छ । यसका लागि नमुना गन्तव्य पहिचान गरी विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउने योजना छ । सोहीअनुसार आगामी आर्थिक वर्षको बजेट भाषणमै यो परियोजनालाई समेटिएको छ । सरकारले नमुना गन्तव्यका रूपमा विकास गर्ने योजनासहित छनोट गरेको सात प्रदेशका सात गन्तव्य यस प्रकार छन् स्
प्रदेश १ सन्दकपुर इलाम
इलामको सर्वोच्च चुचुरो सन्दकपुर ९३,६३६ मि।० इलामभित्रै पनि ओझेलमा परेको गन्तव्य हो । तर, यो पर्यटकीय दृष्टिकोणले मात्रै नभई रणनीतिक हिसाबले पनि निकै महत्वपूर्ण क्षेत्र हो । भारतको पश्चिम बंगाल राज्य र नेपालको सीमामा पर्ने सन्दकपुरबाट आकर्षक हिमशृंखला अवलोकन गर्न सकिन्छ । इलामका श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुर सूर्योदय दृश्यावलोकनका लागि चर्चित छन् । फिक्कल र कन्याम चिया बगानका कारण चर्चित इलामको पहिचान नै बदल्ने गरी सरकारले प्रदेश १ कै नमुना गन्तव्यका रूपमा सन्दकपुरलाई छनोट गरेको छ ।
प्रदेश २ धनुषाधाम धनुषा
नेपालमा धार्मिक गन्तव्यका लागि चर्चित क्षेत्रमध्ये धनुषाधाम ९जनकपुर०को नाम छुटाउन मिल्दैन । राजा जनकले शासन गरेको यो भूमि भगवती सीता ९जानकी०को जन्मस्थल र भगवान् रामको ससुराली सहर हो । धनुषा जिल्लामा पर्ने धनुषाधाम प्रदेश नं। २ ले गर्व गर्नलायक गन्तव्य हो । जनकपुर सांस्कृतिक तथा व्यापारिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको छ । ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याएर प्रदेश २ कै आर्थिक क्रियाकलापमा ठूलो योगदान दिन सक्ने भएकै कारण धनुषाधामलाई सरकारले नमुना गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ ।
प्रदेश ३ इन्द्रसरोवर मकवानपुर
नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल हो, इन्द्रसरोवर । मकवानपुर जिल्लामा अवस्थित यो ताल जलाशयमा आधारित जलविद्युत् आयोजना कुलेखानीका लागि बनाइएको हो । यो ताल जलविद्युत् मात्र नभई पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण बन्दै गएको छ । ७ किलोमिटर लामो जलाशयमा अहिले पानीमा आधारित आकर्षक पर्यटकीय गतिविधि सुरु भइसकेको छ । राजधानीबाट नजिकको गन्तव्य, प्रदेश राजधानी हेटौँडाबाट निकट रहेका कारण पनि भविष्यमा यस भेगले अधिक पर्यटक आकर्षित गर्ने सम्भावना छ ।
प्रदेश ४ पञ्चासे कास्की, पर्वत र स्याङ्जाको संगमस्थल
कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे २,५०९ मिटर उचाइमा अवस्थित आकर्षक पर्यटकीय गन्तव्य हो । खासगरी हिमाली तथा पहाडी शृंखला दृश्यावलोकनसहित प्रकृति र संस्कृतिमा रमाउन चाहनेहरूका लागि यो गन्तव्य महत्वपूर्ण छ । गुरुङ बस्तीले सजिएको पञ्चासेबाट पोखराको फेवाताल, स्याङ्जा, पर्वतदेखि गुल्मी र तराईको भू–भागसमेत अवलोकन गर्न सकिन्छ । पछिल्लो समय होमस्टेको विकास गरी स्थानीयले आउने पर्यटकलाई सेवा दिन थालेका छन् । सुविधासम्पन्न, प्राकृतिक सुन्दरता, जैविक विविधतायुक्त, सांस्कृतिक गन्तव्य भएकाले पनि यो क्षेत्र रणनीतिक महत्वका रूपमा छनोट गरिएको हो ।
प्रदेश ५ देवदह रूपन्देही
भगवान् गौतमबुद्धको मावली गाउँ हो रुपन्देहीस्थित देवदह । तर, गौतमबुद्धको जन्मभूमि लुम्बिनी जति चर्चित छ, मामाघर भने उत्तिकै ओझेलमा छ । लुम्बिनीबाट ३५ किलोमिटर पर घना जंगलको बीचमा यो पवित्रभूमि अवस्थित छ । यहाँ थुप्रै ऐतिहासिक तथा पुरातात्विक स्तम्भ र सामग्री छन् । देवदह आसपासका कुमारवर्ती, खयरडाँडा, कन्यामाई, भवानीपुरजस्ता क्षेत्र पनि पर्यटकीय आकर्षण बन्न सक्छन् । चुरे पहाडको फेदीमा अवस्थित यो गन्तव्यले लुम्बिनीको थप विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कर्णाली रारा मुगु
कर्णाली प्रदेशको मुहार फेर्ने गन्तव्य हो सुन्दर रारा । नेपाललाई प्रकृतिले दिएका अनगिन्ती प्राकृतिक सम्पदामध्ये छुटाउनै नहुने गन्तव्य रारा पनि हो । नेपालको सबैभन्दा ठूलो ताल रारा आफैँमा सुन्दर छ, त्यसमाथि रारा राष्ट्रिय निकुन्जमा पाइने वन्यजन्तु तथा वनस्पतिले यस क्षेत्रलाई अझै बहुमूल्य बनाएको छ । हवाई यातायातसहित पछिल्लो समय रारा सडक यातायातका माध्यमबाट पनि जोडिएको छ । जसले गर्दा रारा एक सहज गन्तव्य बन्दै छ । कर्णाली प्रदेशले यस वर्षलाई रारा भ्रमण वर्षका रूपमा समेत मनाइरहेको छ । छिनछिनमा पानीको रङ बदल्ने रारा २,९९० मिटर उचाइमा अवस्थित छ । ११ वर्गकिलोमिटर क्षेत्रफलमा स्नो ट्राउट माछा हुर्काइरहेको रारा प्रकृतिको एक सुन्दर उपहार हो ।
प्रदेश ७ भादागाउँ कैलाली
थारू समुदायको बाक्लो बस्ती र उनीहरूले संरक्षण गरेको संस्कृतिका कारण चर्चित बन्दै छ भादागाउँ । सुदूरपश्चिमका धेरै गन्तव्य अझै पनि पर्यटकको पर्खाइमा छन् । तर, कैलालीको भादागाउँ आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय गन्तव्य हो । धनगढी उपमहानगरपालिकाबाट १७ किलोमिटर पूर्वतर्फ भादा होमस्टे सञ्चालनमा छ । सडक यातायातको राम्रो सुविधा पुगेको यस क्षेत्रलाई संस्कृति संरक्षण र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रसँग जोड्ने गेटवेका रूपमा विकास गर्न सकिने अवधारणा सरकारको छ ।










