मुगुका अग्निपीडितको अझै पालमुनिकै बास

अच्युतराज भण्डारी
मुगु , कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरमै अग्निपीडित मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री गाउँ पुगेर पुनर्निर्माणका लागि सघाउने वाचा गरे । मन्त्री र सांसदले पनि त्यही आश्वासन दिए । अझ प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले पनि पीडितलाई सघाउने आश्वासन दिए ।
तर, आगलागी भएको दुई महिना पुग्नै लाग्दा पनि न त उनीहरूले राहत पाएका छन्, न त नयाँ घर बनाउन सहयोग न कसैले केही सहयोग गरेका छन् । पालमुनि नै वास छ । पानी पर्दा नसुतेरै रात बित्छ,’ अग्निपीडित पेम्बा लामाले भने ।
२० वैशाखमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए । उनीहरूका खाद्यान्न, लुगाकपडा, सरसामान पनि जलेर नष्ट भएका थिए । त्यसयता केही पीडित परिवार पाल टाँगेर त केही विद्यालय, आफन्तको घरमा बसेका छन् । वर्षायाम सुरु भएसँगै झन समस्या भएको उनीहरूले बताए । ‘पानी पर्दा त बालबच्चालाई सुताउँनै मुस्किल हुन्छ,’ पीडित लामाले भने ।
न राहत न पुनर्निर्माणमा सहयोग
आगलागी भएको एक साता त जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस, गैरसरकारी संस्थाले चामल, दाल, चाउचाउ, नुन सहयोग गरेका थिए । त्यसपछि कसैले सहयोग नगरेको पीडित छिरिङ टासी लामाले बताए । ‘वर्षात्को मौसम आइसक्यो, घरबासको कुनै ठेगान छैन, काठको टहरो र पालमुुुनि रात कसरी काट्ने होला,’ उनले गुनासो गरे ।
अग्निपीडितले स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राहत र पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यतिवेला सबैले आश्वासन दिए पनि अहिलेसम्म कसैले सहयोग नगरेको लामाले बताए ।
किताब जलेपछि पढाइ असहज
आगलागीको सबैभन्दा बढी असर स्कुले बालबालिकामा परेको छ । घरसँगै पुस्तक, कापी, कलम जलेपछि पढाइ प्रभावित बनेको छ । छायानाथ माध्यमिक विद्यालयमा अध्ययनरत यहाँका ३६ मध्ये १९ बालबालिकाका शैक्षिक सामग्री जलेका थिए । उनीहरूले दुई महिनासम्म नयाँ पुस्तक पाएका छैनन् ।
उनीहरूलाई यसअघि विद्यालयले पाठ्यपुस्तक दिएको थियो । जलेपछि विद्यालयले नयाँ पुस्तक दिएको छैन, भने अभिभावकले पनि खरिद गर्न नसकेको बताए । ‘मेरै चार छोरीका झोला, पुस्तक, कापी घरसँगै जलेका थिए । नयाँ किन्न सकेको छैन,’ अग्निपीडित ग्याल्मु लामाले भने । उनीहरू विद्यालय जाने गरेको भए पनि साथीभाइको पुस्तक हेरेर पढ्ने गरेको लामाले बताए ।










