चरन र बजार नपाउँदा भैँसीपालन व्यवसाय संकटमा

जाजरकोट , दिनप्रतिदिन वनजंगल मासिन थालेपछि चरन अभावमा तीन नगरपालिका तथा चार गाउँपालिका भैँसीपालन व्यवसाय संकटमा परेको छ। यस्तै लगानीअनुसारको प्रतिफल नपाएपछि भैँसीपालन व्यवसायप्रति किसानहरूको आकर्षण घटेको छ। यातायातको असुविधाका कारण ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या छ।
भैँसीका लागि चरन क्षेत्र अभाव भएको स्थानीय टोपबहादुर पन्तको भनाइ छ। ‘१०\१५ वर्षअगाडिसम्म भैँसीपालनको सम्भावना राम्रो थियो। एक कृषकका घरमा १५ वटाभन्दा बढी भैँसी हुन्थे तर’, पन्तले गुनासो गरे’ ‘आजभोलि एक\दुईवटा मात्र पालेको देखिन्छ।’ घिउ बनाउँदा लगानी अनुसारको प्रतिफल अाउन छोडेको उनले बताए। अन्य व्यवसायभन्दा भैँसीलाई धेरै मेहनत गर्नुपर्ने र आम्दानी कम हुने कृषकको, उनको भनाइ छ। ‘पकेट’ क्षेत्र मानिएको नलगाड नगरपालिका र बारेकोट गाउँकापालिकाको लहँ, डाँडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्लालगायत गाविसमा भैँसीको संख्या घटेको छ। युवाहरू विदेश पलायन हुने र अन्य पेशा व्यवसायमा लाग्ने कारण जाजरकोटमा भैँसीपालन व्यवसाय संकटमा पुगेको कृषक गोविन्द ओलीको भनाइ छ। भैँसीपालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सञ्चालन नहुँदा यो पेशा संकटमा परेको उनले बताए। जिल्ला पशु सेवा कार्यालयबाट दुर्गमका वास्तविक भैंँसीपालक कृषकसम्म पुग्न नसकेको पशु प्राविधिक रत्नबहादुर डाँगीले बताए। ‘पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायिक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशाप्रति वितृष्णा बढेको हो,’ उनले भने, ‘भैँसीपालन गर्न छोड्दै जाँदा जिल्लामा दूध, दही तथा घिउ अभाव हुन थालेको छ।’ पशु कार्यालय सदरमुकाममै केन्द्रित छ, दुर्गम गाउँमा पुगेको छैन।
पशु चौपायहरूमा विभिन्न रोगको संक्रमण हुँदा समेत कार्यालयबाट कृषकले सेवा पाउन नसकेको कृषक तेजबहादुर शाहीले बताए। कृषकले पशु कार्यालयबाट कुनै पनि सहयोग नपाउने गरेको भन्दै शाहीले गाउँघरमा पनि सेवा पुर्याउन माग गरे। जाजरकोटमा पाँच सयभन्दा बढी भैँसीपालक कृषकले यो व्यवसाय गरेका छन्। बन्द भए डेरी जाजरकोटका ६ ठाउँमा स्थापना भएका डेरीहरु बन्द भएका छन्। जिल्ला सदरमुकामबाहेक अन्य ठाउँकाडेरी बन्द भएका हुन्। दूध उत्पादन घट्दै जाँदा डेरी बन्द भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।










