सडकका कारण जोखिममा गाउँ

जाजरकोट : ग्रामीण क्षेत्रमा डोजरबाट खनिएका सडकले स्थानीयको उठिबास लगाउन थालेको छ। वातारणीय प्रभाव मूल्यांकन र प्राविधिक डिजाइनविनै खनिएका सडकका कारण पहिरो जाँदा यहाँका गाउँ जोखिममा परेका छन्।
मंगलबार नलगाड नगरपालिका–८ कार्यखेतमा सडकका कारण गएको पहिरोले सात घरपरिवार विस्थापित भएका छन्। सडक निर्माणको अनुमगमण नहुँदा निर्माण व्यावसायीले छिटो निर्माण सम्पन्न गर्ने नाममा मापदण्ड मिचेर सडक खन्दा ठाउँ ठाउँमा पहिरो आएको हो।

जिल्लाका सात वटा स्थानीय तहमा वर्षायाम सुरु नहुँदै सडक भत्किन थालेका छन्। भिरालो जमिनमा जथाभावी सडक निर्माण गर्दा सडकको छेउछाउमा भएका स्थानीयका घर जोखिममा परेको नलगाड–८ स्थित पञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए।
डोजरले खनेका सडकहरुमा माटो कम्जोर भई ठाउँठाउँमा पहिरो गइरहेको छ। निर्माण भएका सडकको अनुगमन नै नगरी सडक विभागले स्वीकृत गरिदिँदा सडक एक वर्षमै काम नलाग्ने भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।
जिल्लाका कुशे गाउँपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिकामा खनिएका सडक मनसुन नलाग्दै भएको वर्षाले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ। ती सडकमा मानिसहरु पैदल नै हिँड्न नमिल्ने अवस्थामा पुगेको नारायण खत्रीले बताए।
अधिकांश ठाउँमा जनप्रतिनिधिले आफैंले खनेको सडकमा यस्तो समस्या देखिएको छ। नलगाड–८ का वडाध्यक्ष गोविन्द शाहीले खनेको सडकले नै स्थानीयको उठिवास लगाएको छ। हिउँद याममै गाडी गुड्न नसकेको यो सडकमा वर्षा हुँदा पैदल हिँड्ने बाटोसम्म नभएको स्थानीयको गुनासो छ।










