डोल्पामा यार्साका कारण खोसियो दिवाखाजाको ३३ लाख , ८५ प्रतिशत बिद्यालय अझै बन्द

दुनै २८ जेठ-हिमाली जिल्ला डोल्पामा प्रत्येक बर्ष जेठ पहिलो सातादेखि असार पहिलोसातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्दहुने गर्दछन् ।
सो अवधिमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सिजन चल्ने भएकाले गाँउनै रित्तो पारेर सम्पुर्ण सर्वसाधारणहरु यार्सागुम्बाको खोजिमा यार्सापाटन पुग्ने गर्दछन् ।
त्यतिखेर बिद्यार्थीहरु पनि नियमित कक्षा छाडेर बर्षभोरीको पढाईखर्च जुटाउन आफ्ना अभिभावकसँगै यार्सागुम्बा पाटन पुग्दछन् ।
बहुमुल्य जडिबुटी यार्सागुम्बाका संकलनको समयमा डोल्पाका बिद्यालय एक महिना बन्द भएपछि सरकारले दिने अनुदान फिर्ताजाने भएको छ ।
जिल्लाका विभिन्न बिद्यालयमा दिवाखाजा बाफतको रुपमा जाने ३३ लाख बराबरको रकम फिर्ता जाने भएको हो ।
यार्सागुम्बा संकलनका समयमा बन्दहुने जिल्लाका कुनैपनि बिद्यालयहरुलाई शिक्षाबाट जाने दिवाखाजा बाफतको अनुदान नपाउने भएका हुन ।
सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रम अन्तर्गत प्रत्येक एक महिनामा प्रति बिद्यार्थिका लागि करिव २० दिनको दिवा खाजा स्वरुप अनुदान दिने ब्यवस्था रहेको शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख सिँहराज डागीले बताए ।
यार्सागुम्बा संकलनको समयमा बन्दहुने बिद्यालयहरुको एक महिनाका लागि पाउने २० दिनको दिवाखाजाको अनुदान रकम करिव ३३ लाख सरकारलाइ फिर्ता हुने छ डाँगीले भने ।पाँच कक्षा सम्मका बिद्यार्थीलाई प्रति बिद्यार्थी एक दिनको बिस रुपैयाका दरले महिनामा ४ सय रकम दिवाखाजा बाफत बिद्यालयमा जाने गर्दछ ।
जिल्लाका ८५ प्रतिशत बिद्यालय बन्द
जिल्लाका करिब ८५ प्रतिशत बिद्यालय अझै पनि खुलेका छैनन ।यार्सागुम्बा संकलन सिजन सुरुभएसँगै जेठ १ गते देखि बन्द भएका बिद्यालय अझै नखुलेका हुन् ।
जिल्लाभरका १ सय १२ वटा बिद्यालय मध्ये हालसम्म जम्मा १८ वटा बिद्यालय मात्र खुलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पाले जानकारी दिएको छ ।
यार्सागुम्बा संकलनका लागि जेष्टको एक गतेबाट बन्द गरिएका बिद्यालयहरु महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पामा प्रमुख डांगिले जानाकारी दिए ।
उनले भने ८ वटा स्थानीयतह रहेको यस जिल्लामा जेष्ट २० गतेबाट जगदुल्ला गाउपालिकाका १४ वटै बिद्यालयमा पढाइ सुचारु भयो भने अन्य ठाउका कुनै पनि बिद्यालय खुलेका छैनन ।
शे–फोक्सुण्डो गाउपालिकाको तापिरिचा माध्यामिक बिद्यालय साइजल,त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभुत बिद्यालय भोरगाउ,काञ्जीरुवा आधारभुत बिद्यालय दापु र हिमजोती आधारभुत बिद्यालय सार्किटोल गरि ४ वटा बिद्यालयले यार्सागुम्बाको समयमा पनि बिद्यालय सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले जानकारी दिएको छ ।
यार्सागुम्बाको अबधिभर बिद्यालय खोल्ने चार बिद्यालयले बाहेक अरुले दिवाखाजाको अनुदान रकम नपाउने डाँगीले जानकारी दिए ।उनका अनुसार जगदुल्लाका १४ वटा बिद्यालय २० गतेबाट खुलेपनि ति बिद्यालयले पनि दिवाखाजा अनुदान पाउने छैनन् ।
उनका अनुसार जम्मा महिनाभर गरि २० दिनको मात्र दिवाखाजाको अनुदान रकम पाउने हो,बिस दिननै बिद्यालय बन्द भएपछि खाजाको अनुदान पाउने छैनन् ।
यार्सा सिजनमा छिमेकी जिल्लाका बिद्यालय पनि बन्द
यार्सागुम्बा सिजनमा डोल्पाका सबै बिद्यालय बन्द हुन्छन नै छिमेकी जिल्ला रुकुम,जाजारकोट,जुम्ला जिल्ला लगायतका बिद्यालय समेत यार्सा सिजनमा बन्द हुने गर्दछन ।
डोल्पाली मात्र नभई छिमेकी जिल्लाबासीको पनि प्रमुख आम्दानीको स्रोतको रुपमा रहेका यार्सागुम्बा सिजनमा छिमेकी जिल्लाका बिद्यालयहरु पनि बन्छहुन्छन् ।
बिद्यालयहरु बन्दहुने भएपछि बिद्यार्थीहरु बर्षभोरीको पढाईखर्च ज्यान जोखिममा पार्दै डोल्पाका उच्च हिमाली पाटनहरुमा बिद्यार्थीहरु पुग्ने गर्दछन् ।
बिद्यालय बन्द गर्न नचाहदा चाँहदै पनि बाध्यता जस्तै भएकोले केहि दिनलाइ बन्द नै गर्नु परेको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए ।
उनले भने यस बर्ष बिस दिन बन्द गरियो सके सम्म अर्को बर्षबाट बिद्यालय बन्द हुदैनन शिक्षाबाट वालवालिकाहरुलाइ शिक्षा लिन बञ्चित गराइदैन ।
बर्षमा पाँच महिना पनि निरन्तर पढाई हुँदैन्
हिउदको समयमा पुस र माघ महिनामा हिउदे बिदा हुन्छ ,फागुन भर्ना अभियानले एक दुई हप्ता पढाई हुँदैन्,जेष्टमा यार्सागुम्बाले एक महिना धेरै बिद्यालय बन्छ हुन्छन्,अन्य महिनामा बिभिन्न चार्डपर्बका तथा सार्वजानिक बिदाले बिद्यालय खुल्दैन् नागरिक अगुवा योगेन्द्र बुढाले भने ।
डोल्पाका बिद्यालयमा करिव ५ महिना पनि निरन्तर पढाइ हुँदैन, कसरि एक हजार घण्टा बिद्यालयमा बालवालिकाले अध्ययन गरे त बुढाले प्रश्न गर्नुभयो यही कारणले डोल्पाको शिक्षाको अवस्था खस्किँदो छ,यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ समयमै सरोकारवालाको ध्यान जावस उनको भनाई छ ।
पाठ्यक्रमनै भ्याईदैन
बिद्यालय खुल्ने भन्दा बन्दहुने समय धेरैहुने भएकाले पाठ्यक्रम नै नभ्याइने र भने अनुसार बिद्यार्थिले शिक्षा आर्जन गर्न नपाउने शिक्षाबिधहरुको दावी रहेको छ ।
अत्याधिक बिद्यालहरु पर्ने र बिद्यालय कम मात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पुरा नहुने गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले स्वीकार गरेको छ ।
कार्यालयका अनुसार यार्सागुमबा सिजनमा औपचारिक बिदा हुँदैन,सरहरु बिद्यलायमा बिद्यार्थी कुरेरै बस्नु भएको हुन्छ तर बर्षभोरीको कमाईगर्नकालागि सबै पाटनमा जाने गर्दछन्,उनीहरुलाई नजाउ पनि कसरी भन्नु,तैपनि सके जति नियमन गर्ने प्रयास भएको छ शिक्षा बिकास तथा समन्वय शाखा डोल्पाका प्रमुख डाँगीले भने ।
कोही शिक्षक घाम ताप्दै कोही यार्सा ब्यापारमा
यार्सागुम्बा टिप्नका लागि बालवालिकानै पाटनमा पुगेपछि शिक्षकहरु कोही घाम तापेर बसेका छन भने कोही यार्साका ब्यापारी पनि बनेका छन ।
फुर्सदको समयको भरपुर उपयोग गर्दै शिक्षक ब्यापार गर्दै छन् भने बिद्यार्थिहरु यार्सा टिप्दै पाटनमा रमाइ रहेकाछन बिद्यालय खोल्नेमा सुरसार भने कोहीपनि देखिँदैनन् ।
शिक्षा बिकास तथा समन्वय ईकाइले जेष्टको अन्तिम साता खोल्न भने पनि धेरै बिद्यालयहरु असारको दोस्रो साता मात्रै खुल्ने गरेको स्थानीयहरु बताउछन ।
रामचन्द्र न्यौपाने










