फोहोर जथाभावी फाल्न नरोके जरिवाना गराउँछु ः मन्त्री बस्नेत

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको सहभागितामा बुधबार राजधानीमा सरसफाई कार्यक्रम भएको छ ।
हजारौंको संख्यामा स्वयंसेवकहरू सहभागी सरसफाई कार्यक्रम टुँडिखेल अगाडिबाट सुरु भएर भद्रकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अनन्नपूर्ण न्युरो अस्पताल अगाडि पुगेर समापन गरियो ।
सरसफाई कार्यक्रमको मन्त्री बस्नेत स्वयंले नेतृत्व गरेका थिए । मुखमा माक्स र हातमा कुचो लिएका मन्त्री आफैं सरसफाइमा सहभागी भएका हुन् ।
सरसफाइका क्रममा राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहोरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहोर हटाउन निर्देशन दिए ।
‘तपाईहरूले आफनो कार्यालय अगाडि थुपार्नु भएको फोहोर तत्काल हटाउनुस्’, बस्नेतले भने, ‘यदि आगामी दिनमा पनि फोहोर फेला पारियो भने कारबाही गर्छु ।’










