खेल सिकाउँछन् नगरप्रमुख

जाजरकोट — नेताले खेलकुदमा चासो लिन्छन् र नगरप्रमुखले बालबालिकालाई खेलकुद सिकाउँछन् भन्दा अनौठो लाग्न सक्छ ।
तर भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती बालबालिकालाई खलंगामा कराँते खेल सिकाउँछन् । प्रायस् जनताको काममा व्यस्त हुने प्रमुख घर्तीले फुर्सद निकालेर बालबालिकालाई कराँते सिकाउने गरेका हुन् ।
घर्तीलाई नगर विकासका साथै जनताको काम भ्याइनभ्याइ छ । व्यस्तताका बाबजुद पनि घर्ती बिहानबेलुका बचेको समय निकालेर बालबालिकालाई कराँते सिकाउँछन् । जनताको काम भ्याइनभ्याइ हुँदाहुँदै थोरै समय निकालेर बालबालिकाको चाहना पूरा गर्न खेल सिकाउन लागेको नगर प्रमुख घर्तीले बताए ।
जनताको कामबाट चोरेको समयमा साना भाइबहिनीलाई खेल सिकाउन पाउँदा आनन्द लाग्ने गरेको उनले बताए । ‘म पनि खेलाडी भएकाले खेलकुदमा फर्कंदा र आफूले सिकेको सीप सिकाउन पाउँदा तनाव कम हुनुका साथै आनन्द पनि आउँछ,’ नगर प्रमुख घर्तीले भने, ‘जनताका कामकाजमा तनाव हुन्छ । विगतको खेलजीवन सम्भँmदा आनन्द आउँछ ।’ बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुद सिकाउन लागेको उनले बताए । प्रमुख घर्ती कराँतेका पूर्व राष्ट्रिय खेलाडी हुन् । गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष रहेका घर्ती एसियन कराँते महासंघका एसिया स्तरका रेफ्री पनि हुन् ।
नगरप्रमुखसँग कराँते सिक्न पाउँदा बालबालिका पनि दंग छन् । नगरप्रमुखसँग कराँते खेल सिक्ने मौका पाउँदा निकै उत्साहित भएको प्रशिक्षार्थी विशाल विकले बताए । बालबालिकालाई आनन्दका साथ खेल सिकाउने गरेका छन् । ‘कराँते सिक्न आउनेको संख्या बढ्दो छ,’ उनले भने ।
मेयरले सिकाउन थालेपछि खेलाडी संख्या पनि बढेको उनले बताए । भेरी नगरपालिकाका २, ३ र ४ का २ दर्जन बालबालिकाले नगरप्रमुख घर्तीसँग नियमित कराँते खेल सिकिरहेका छन् । नगरप्रमुख घर्ती जिल्लाको खेलकुदको विकासमा गम्भीर भएको प्रशिक्षक अमृत मल्लले बताए । घर्ती काम विशेषले बाहिर गएमा मल्लले बालबालिकालाई कराँते सिकाउँछन् ।
जिल्लामा एउटा खेलमैदान समेत नहुनु लज्जास्पद भएको प्रमुख घर्तीले बताए । खेलाडीलाई हौसला दिन भेरी नगरपालिकामा खेलकुदको विकास गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । सदरमुकाम खलंगामा खेलकुदको पूर्वाधार विकास गर्न आगामी आर्थिक वर्षमा नगरपालिकाबाट बजेट विनियोजन गर्ने योजना बनाएको उनले बताए ।










