मोदीले भ्रमण गरेको केही दिनमै मुस्ताङबाट आयो यस्तो खबर

मुस्ताङ– प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।
मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् ।
सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् । जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो । गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को जोमसोमस्थित सूचना केन्द्रका अनुसार गत अप्रिल महिनामा मात्र नौ हजार १०५ विदेशी पर्यटक मुक्तिनाथ पुगेका थिए । तीमध्ये भारतीय पर्यटकको संख्या चार हजार ५३७ रहेको छ ।
एक्यापको आँकडानुसार मुक्तिनाथ घुम्ने भारतीय पर्यटकको संख्या वर्षेनी बढेको देखिन्छ । सन् २०१७ मा मुस्ताङ भित्रने भारतीय पर्यटकको संख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करीब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको पाइएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए ।
मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ आउने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।








