विदेश भएकाको पनि सट्टा परिक्षा दिने गरेको खुलासा

जाजरकोट — जाजरकोटमा सञ्चालन हुँने विभिन्न परिक्षामा सट्टा राखेर परिक्षा दिन लगाउँनेको संख्य वढ्दै गएको खुलासा भएको छ । माध्यमिक शिक्षा परिक्षा , ११ , १२ कक्षाको वार्षिक परीक्षामा खेताला परीक्षार्थी पक्राउ परेपछि यस्तो कार्य खुलासा भएको हो । विदेशमा रहेकाले समेत खेताला लगाएर माध्यमिक तथा ११,१२ कक्षाको परीक्षा उत्तीर्ण गर्ने प्रचलन बढेको छ ।
यस वर्ष दुवै परीक्षामा फेला परेका दर्जनौं खेताला मध्ये १० ,११ जनालाई मात्र मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो भन्दा अगाडि सट्टा लेख्ने तथा लेखाउने अधिकांशलाई केन्द्राध्यक्ष लगायतको मिलोमतोमा मुद्दा नलगाई गुपचुप पारिने गरिन्थ्यो । २०वटा माध्यमिक शिक्षा परीक्षा केन्द्र र ९ वटा राष्ट्रिय परीक्षा वोर्डका केन्द्रमा खेताला परीक्षार्थीको बिगबिगी भएको प्रहरीले बताएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक, परीक्षार्थी, केन्द्राध्यक्ष लगायत पक्षको मिलोमतोमा खेताला परीथार्थी राख्ने कार्य हुने गरेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह बताउनुभयो ।
परीक्षा आवेदन फारम भर्दा नै वास्तविक परीक्षार्थीको फोटो नराखेर खेतालाको फोटो राखेर प्रवेशपत्र बनाउने गरेको प्रहरीले बताएको छ । कतिले प्रवेशपत्र हराएको भन्दै खेतालाको फोटो टाँसेर अर्को बनाई परीक्षा दिन लगाएको डिएस्पी भावेश रिमालको भनाइ छ । ‘रजिस्ट्रेसन हुँदा एकको फोटो परीक्षा आवेदन भर्दा र दिंदा अर्कैको फोटो टाँस्ने अनि परीक्षा दिने,’ उहाँले भन्नुभयो , ‘कतिले त अर्कैको प्रवेशपत्रबाट पनि जाँच दिएको खुल्न आएको छ ।’ राष्ट्रिय परीक्षा बोर्डलगायत निकायको चरम लापरबाहीका कारण विभिन्न परीक्षामा खेतालाको बिगबिगी हुने गरेको रिमालले जनाउनुभयो । उहाँका अनुसार नियमित अनुगमन तथा निरीक्षण नहुँदा विकृति फैलिएको हो । प्रहरीका अनुसार बारेकोट गाउँपालिका ४ का प्रकाश बोहरा जिल्ला अदालत जाजरकोटको तारेखमा छन् । सोही ठाउँकी निरुता बोहरा, खग्रेन्द्र बस्नेत, कुशे गाउँपालिका ७ की सिर्जना सिंह, शिवालय गाउँपालिकाका ७ का सन्देश विसी र गरीमा थापा तारेखमै छन ।
त्यस्तै, बैजनाथ गाउँपालिका ८, बाँकेकी अनिता शाही र कृष्णकुमारी थापालाई पनि अदालतले तारेखमा राखेको छ । उनीहरू सबैलाई सट्टामा परीक्षा दिएको र दिन लगाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको हो । चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा प्रकाशले स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयमा खग्रेन्द्रको खेताला परीक्षार्थी बन्दा पक्राउ परेका थिए । सट्टा परीक्षार्थी प्रकाश अमर ज्योति मावि नेवारे, सुर्खेतमा १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । सोही विषयमा कल्पनाको सट्टा परीक्षा दिने निरुता र कुशे ३ की निर्मला नेपालीको सट्टा परीक्षा दिने सिर्जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निरुता र सिर्जना त्रिभुवन मावि खलंगाका १२ कक्षाका विद्यार्थी हुन् । सट्टा परीक्षा दिन लगाउने बस्नेतद्वय सरस्वती मावि सिलिङचौर र नेपाली भगवती मावि अर्छानीका एक्जाम्टेट समूहका परीक्षार्थी हुन् । उनीहरूलाई प्रहरीले शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँ परीक्षा केन्द्रबाट नियन्त्रण लिएको थियो ।
बिसी सोही ठाउँकी गरिमा थापाको सट्टा गणित विषयको परीक्षा दिँदा पक्राउ परेका थिए । सट्टा परीक्षा दिने बिसी वीरेन्द्र मावि जुगाथापाचौरका १२ कक्षामा अध्ययनरत विद्यार्थी र थापा खड्गदेवी मावि शिवालयकी परीक्षार्थी हुन । उनीहरू मावि जुगाथापाचौर परीक्षा केन्द्रबाट प्रहरीको नियन्त्रणमा परे । त्यस्तै, सब ओभरसियर पढ्दै गरेकी शाहीले कक्षा १२ को अनिवार्य अंग्रेजी विषयको वार्षिक परीक्षा कृष्णको सट्टा दिँदा प्रहरी नियन्त्रणमा जानुर्पयो । प्रहरीले सट्टा परीक्षार्थी शाही र दिन लगाउने कृष्णलाई त्रिभुवन मावि खलंगा केन्द्रबाट नियन्त्रणमा लिएको हो । अर्काको तर्फबाट परीक्षा दिने परीक्षार्थी र परीक्षा दिन लगाउनेलाई शिक्षा ऐनअनुसार सजायको माग दाबीसहित अदालतमा अभियोग दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताउनुभयो । शिक्षा ऐन २०२८ को दफा १७ (क) बमोजिम अर्काको तर्फबाट परीक्षा दिएको तथा दिन लगाउनेलाई ६ महिनासम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान भएको आचार्यले बताउनुभयो ।
हेमन्त के सी








