अपडेट : त्रिभुवन विमानस्थलका महाप्रबन्धक भन्छन्, ‘अझै विमान भेटिएको छैन’, प्रहरी भन्छ, ‘खोज्दैछौँ’

काठमाडौं । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका छन् ।

रातोपाटीसँग कुरा गर्दै क्षत्रीले भने, ‘विमान भेटिएको अपुष्ट खबर मात्र आएको हो । विमान अझै पनि राडारको सम्पर्कमा आएको छैन ।’

यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो ।

मकालु एयरको 9N AJU कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।

यता, बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले पनि एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘विमानले आकस्मिक अवतरण गरेको भन्ने खबर पाएका छौँ । तर, हामीले अहिलेसम्म आँखाले विमान देखेका छैनौँ,’ बोहोराले भने ।

उनका अनुसार बाजुरमा दुईवटा बगर रहेको छ, एउटा कर्णालीको बगर र बाजुराको बगर ।

बाजुराको वगर विक्षा चौकीबाट २ घण्टा टाढा रहेको र त्यहाँबाट प्रहरी हिनिसकेको उनले जानकारी दिए ।

कर्णालीको बगरका लागि प्रहरी पठाइसकेको उनले जानकारी दिए ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।





error: Content is protected !!