डोल्पाका पाटनहरूमा यार्सागुम्बा टिप्न सुरु, एक महिना खुला रहने

डोल्पा : डोल्पाको पाटनमा यार्सागुम्बा टिप्न खुला गरिएको छ। यार्सागुम्बाका लागि मंगलबारदेखि असार १ गतेसम्म खुला गरिएको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदीप चौधरीले जानकारी दिए।

निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयलाई एक हजार, डोल्पा जिल्लाका बासिन्दालाई दुई हजार पाँच सय र जिल्ला बाहिरका यार्सा टिप्न जानेलाई इजाजत बापत तीन हजार पाँच सय रुपैयाँ शुल्क लिएर पाटनहरुमा जान अनुमति दिइएको प्रमुख संरक्षण अधिकृत चौधरीले बताए। यार्सा डोल्पाका नागरिकको प्रमुख आयआर्जनको स्रोत हो।

जिल्लावासीहरु एक महिनाका लागि खाने बस्ने सामलसहित घरमा ताला लगाएर पाटनतर्फ जाने क्रम शुरु भएको छ। चौधरीका अनुसार इजाजत लिएर जानेको लर्को लागेको छ। विद्यालयहरु समेत बन्द गराएर शिक्षक र विद्यार्थी पनि पाटनतर्फ लागेका छन्। डोल्पामा नेपालकै बढी र गुणस्तरीय यार्सागुम्बा पाइने निकुञ्जले जनाएको छ। डोल्पामा पाइने एउटा यार्साको मूल्य १२ सय रुपैयाँसम्म पर्छ।

एक सिजनमा प्रतिव्यक्तिले दुई लाखसम्म आम्दानी गर्छन्। डोल्पाको जगदुल्ला, कागमारा, ठागेँ, रुपपाटन, नावरपानी, सागरपाटनलगायतका स्थानमा यार्सागुम्बा पाइन्छ। यार्सा संकलनका लागि जानेहरुको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकायका टोली खटिएका निकुञ्जले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!