बजेट माग्दै कर्णालीको टोली काठमाडौं

कर्णाली प्रदेशको विकासका लागि बजेट माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री र संसदीय दलका नेताहरू काठमाडौंमा छन् । उनीहरू एक सातादेखि प्रधानमन्त्री, मन्त्री, दलका नेता र सरकारी निकायका कार्यालय धाइरहेका छन् ।

मुख्यमन्त्री शाहीको टोली २३ वैशाखमा काठमाडौं गएको थियो । टोलीमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, एमाले संसदीय दलका नेता यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू छन् ।

उनीहरू विकास योजनाको सूची बोकेर सबैतिर चहारिरहेका छन् । ‘कर्णालीका लागि पर्याप्त बजेट र ठूला आयोजनाहरू आगामी बजेटमा पार्न आग्रह गरिरहेका छौँ,’ मुख्यमन्त्री शाहीले भने ।

उनीहरूले कर्णालीका ठूला योजनाहरूको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । सो क्रममा प्रधानमन्त्री ओलीसँग प्रदेशका ठूला आयोजना र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ । त्यस्तै, प्रदेशको बजेट निर्माण, आन्तरिक स्रोत पहिचान र राजस्व संकलनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई दर्जन योजनाको सूची

२६ वैशाखमा कर्णालीको टोलीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा दर्जन योजना समेटिएका छन् । जसमा जलविद्युत् उत्पादनका लागि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गरेका थिए ।

त्यस्तै, कर्णाली दु्रतमार्ग (जमुनाहा–चंखेली–हिल्सा), कर्णाली र भेरी करिडोरका सडकलाई दुई लेन बनाउन, तेलपानी–भुरिगाउँ–सुर्खेत सुरुङमार्ग निर्माण गर्न, नाक्चेलांगना दुई देशीय सडक नाका निर्माण गर्न आग्रह गरिएको छ ।

कर्णालीको टोलीले बुझाएको सूचीमा मरिम–धो–सुर्खेत दुई देशीय सडक निर्माण, दाङ–सुर्खेत–दिपायल सडक निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै, चीनसँग उत्तरी नाका खोल्न पहल गर्न र त्यसको व्यवस्थापनका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

विज्ञहरूसँग परामर्श

यही मौका पारेर मुख्यमन्त्रीको टोलीले कर्णालीको विकासका लागि विज्ञहरूसँग परामर्श र सरोकारवालासँग छलफलसमेत गरेको छ । कर्णालीको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्नका लागि टोलीले काठमाडौंमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रबिक्रम बुढाथोकीले बताए । त्यस्तै, कर्णालीमा लगानीका लागि उद्योगी, व्यवसायीहरूसँग समेत छलफल गरिएको जनाइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!