गाउँपालिकाको केन्द्र पुग्न दुई दिन पैदल 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माका खगराज पुन योजनाको रकम भुक्तानिका लागि दुई दिन पैदल हिँडेर गाउँपालिकाको केन्द्र कोल पुगे । उनी ७० हजारको पानी घट्ट निर्माण योजनाको भुक्तानिका लागि दुई दिन लगाएर उपभोक्ता समितिका अन्य पदाधिकारीसंग कोल पुगेका हुन् । तर कागजात नपुगेको भन्दै गाउँपालिकाबाट भुक्तानि भने दिइएन ।

खगराज मात्र होईन यस गाउँपालिकाका अधिकांश वडावासीलाई गाउँपालिकाको केन्द्र पुग्न एक दिनभन्दा बढी लाग्ने गरेको छ । गाउँपालिकाका अधिकांश ठाउँमा यातायातको सुविधा नपुगेका कारण मान्छेहरु लामो समय हिँडेर गाउँपालिकाको केन्द्र पुग्ने गरेका छन् । गाउँ गाउँमै सेवा दिन भन्दै संघीयताको अवधारणा ल्याईएपनि यस गाउँपालिकाका नागरिकलाई भने पहिला भन्दा झन् सकस भएको छ ।

साविकका गाविस हुँदा चार, पाँच घण्टा पैदल हिँडेर सेवा पाईने भएपनि हाल दुई दिन हिँड्नुपर्ने बाध्यता रहेको पुथाउत्तरगंगा गाउँपालिका १ का नैन बुढाले बताए । योजना सम्झौता देखि भुक्तानिका लागि गाउँपालिकाको केन्द्रमा आउँदा जाँदा मात्र चार दिन लाग्ने गरेको उनको भनाई छ ।

वडा नं। १ मैकोट, २ पेल्मा, ३ रन्मा र वडा नं। ५ हुकामको काजरजंगका नागरिकलाई वडा नं। १२ कोलमा रहेको गाउँपालिकाको केन्द्र पुग्न दुई दिन लाग्छ । त्यस्तै वडा नं। ७ जाङका नागरिकलाई गाउँपालिकाको केन्द्र पुग्न एक दिन पैदल हिँड्नुपर्छ । सेवा लिनका लागि दुई दिन पैदल हिँड्दा पनि कहिले काही सेवा पाउन नसकिएको नागरिकहरुको गुनासो छ ।

कागजात नमिल्दा फेरी दुई दिन लगाएर गाउँ फर्किनु पर्ने बाध्यताका कारण खर्चपनि बढी हुने गरेको मैकोटका कमसिंह घर्तीले बताए । ‘निकै कष्टका साथ दुई दिन पैदल हिँडेर गाउँपालिकाको केन्द्र कोलमा पुग्दा पनि कहिले काहि कागजात नमिल्दा फेरी दुई दिन हिडेर गाउँ पुग्नुपर्छ।’ उनले भने । संघीयता आएर आफुहरुले पाउने सेवामा कुनै सहजता नआएको यस क्षेत्रका नागरिकहरुको भनाई छ ।

प्रस्तावित दुई गाउँपालिकालाई एउटै बनाउँदा समस्या
राज्य पुनःसंरचनाका क्रममा रुकुम जिल्ला सिंगो थियो । सोही अनुसार जिल्लामा दश वटा स्थानीय तह रहने गरी सिफारिस गरिएको थियो । तर दुई वटा स्थानीय तहका रुपमा सिफारिस गरिएका पुथा र उत्तरगंगालाई मिलाएर एउटै पुथाउत्तरगंगा गाउँपालिका बनाईएपछि यहाँका नागरिकहरुलाई हाल सेवा लिनका लागि समस्या भएको हो । साविकको हुकाम, रन्मामैकोट गाविस र जाङका दुई वडा ८ र ९ लाई समेटेर पुथा गाउँपालिका सिफारिस गरिएको थियो ।

त्यस्तै साविकका कोल, तकसेरा, राङशि, गाविस र जाङका १–७ नं। वडालाई जोडेर उत्तरगंगा गाउँपालिका सिफारिस भएको थियो । सिफारिस भए अनुसार अन्य स्थानीय तहहरुले मान्यता पाएपनि पुथा र उत्तरगंगा गाउँपालिकालाई जोडेर एउटै स्थानीय तह बनाईयो । जसका कारण भौगोलिक रुपमा ठुलो र विकट स्थानीय तहका रुपमा रहेको यस गाउँपालिकाका नागरिकहरुलाई सेवा लिन अहिले समस्या भएको छ ।

सबै वडालाई निकट बनाउँदै छौँ
यहाँका अधिकांश वडा सडक सञ्जालमा जोडिन बाँकी छ । हाल तीन, चार वटा वडालाई मात्र सडक सञ्जालले छोएको छ । जसका कारण पनि यहाँका नागरिकहरुको दैनिकी कष्टकरपूर्ण छ । सबै वडालाई गाउँपालिकाको केन्द्र देखि निकट बनाउन पहल भैरहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । केहि वडालाई सहिद मार्गले छोएको र अन्य केहि वडालाई पनि यो मार्गले छुने उनको भनाई छ । यस मार्गले नछुने वडालाई भने रिङ रोड निर्माण गरेर सडक सञ्जालमा जोड्ने उनको भनाई छ । ‘हाम्रो पहिलो प्राथमिकता भनेकै सडक हो’ उनले भने–‘धेरै वडामा सडक पुग्न सकेको छैन, केहि वडालाई सहिद मार्गले जोडेको छ, अन्य वडालाई जोड्ने गरी रिङरोडको अवधारणा अगाडि सारेका छौँ ।’ गाउँपालिकाले निर्माण गरेको गुरुयोजनामा यसलाई समेटिएको उनको भनाई छ ।

मनिस खड्का नयाँ पत्रिका




सम्बन्धित समाचार


error: Content is protected !!