बाँकेमा २ वटा एलसेलको टावरमा आगजनी

कृष्ण ओली । नेपालगन्ज ।
अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका एलसेलको टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।
एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षती पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ । अज्ञात समुहले आगजनी गरे लगत्तै स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कुनैपनि समूहले घटनाको जिम्मा लिएको छैन ।
विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने बाँके प्रहरीले आंशका गरेको छ । प्रहरी प्रमुख एसपी तामाङले भने, अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन, घटनामा सग्लनहरुको खोजी कार्य जारी छ ।










