मोदीको मुक्तिनाथ भ्रमणमा मौसमको चुनौती १ माइनस तापक्रममा स्वागत तयारी

कमल खत्री
म्याग्दी, २७ वैशाख । प्रतिकुल मौसमका बाबजुत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी तिब्र पारिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा भारी हिमपात भएसंगै मोदीको भ्रमण तयारीमा चुनौतीहरु थपिएका छन् । बिहीबार बिहान १० बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको थियो ।
११ बजेपछि घाम लागेपछि बल्ल मुक्तिनाथमा हेलिप्याड, स्वागत गेट लगायतका निर्माणको तयारी सुरु भएपनि अपरान्ह ४ बजेपछि पुनः हिउँ पर्न थालेपछि स्वागत गेटहरु निर्माणमा ढिलाई भइरहेको छ । प्रतिकुल मौसमका बीच सबै सुरक्षा निकायसँग दैनिक समन्वयमा सुदृढ सुरक्षा प्रबन्ध गराईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ आइपुग्ने कार्यक्रम छ । उहाँको भ्रमणलाई भव्य बनाउन जिल्ला समन्वय समितिका प्रमुख छरिङ ल्याबो गुरुङको अध्यक्षतामा स्वागत समिति बनाईएको छ । उहाँका अनुसार अब २९ गते मोदी पुजापाठ गर्ने अवधीसम्म मुक्तिनाथ प्रवेश निषेध गरिएको र पर्यटकलाई बैकल्पिक मार्ग तोकिएको छ ।
काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ । मोदीकै भ्रमणका लागि मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ । त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन् । मोदीको भ्रमणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र गेटहरु बनाउने काम जारी रहेको समन्व समितिकी प्रमुख गुरुङको भनाई छ । मुक्तिनाथ वरपर भारतीय प्रधानमन्त्री नरेन्द मोदीको तस्विर राखेर उहाँलाई न्यानो स्वागत दिन तयारी गरिएको छ ।
६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट बनाईनेछ । मन्दिर प्रवेशद्धार नजिक बनाईएको हेलिप्याडमा अवतरणपछि मोदी पैदल मार्फत नै मन्दिर पुगेर पुजामा सरिक हुने कार्यतालिका तय भएको छ । मन्दिरमा विशिष्ट पाहुना आउँदा पुजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मुस्ताङका सबै होटलहरुमा पाहुनाहरु माथि व्यापक निगरानी बढाईएको छ ।
मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ । २८ गते मुक्तिनाथमा रहेको एक दर्जन होटलहरु बन्द गरिनेछ । तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ ।सुरक्षा निकायको दैनिक बैठक बसेर आवश्यक तयारीलाई तिब्रता दिइएको प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले बताउनुभयो ।
हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्च स्तरीय धार्मीक भ्रमणले मुस्ताङबासीमा उत्साह छाएको छ । नागरीक स्तरमा नेपाल भारत सम्बन्ध सुदृढ बन्नुका साथै मुक्तिनाथको महिमा अझै बृद्धी भई धार्मीक पर्यटन विकासमा मद्दत पुग्ने स्थानीयबासी विश्वस्त देखिएका छन् ।








