चार डिपोमार्फत नुन वितरण

रुकुम पश्चिम — नेपाल साल्ट ट्रेडिङ लिमिटेडले वितरण केन्द्र समेत थपेर आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । लिमिटेडले रुकुम डिपो कार्यालयसहित चार ठाउँबाट आयोडिनयुक्त नून वितरण थालेको हो ।

गत वर्ष डिपो कार्यालय सहित तीन ठाउँबाट नून वितरण हुँदै आएकामा यो वर्षदेखि चार ठाउँबाट आयोडिनयुक्त नुन वितरण भइरहेको रुकुम डिपो कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङ लिमिटेडले हालसम्म रुकुम पश्चिम र रुकुम पूर्व जिल्लालाई एउटै कार्यक्षेत्र मानेर काम गरिरहेको छ ।

डिपो कार्यालयसहित रुकुम पश्चिमका दुई र रुकुम पूर्वका दुई वितरण केन्द्रबाट नुन वितरण भइरहेको रुकुम डिपो प्रमुख पूर्णराज गौतमले जानकारी दिए । मुसीकोट नगरपालिका–५, स्थित सेरीगाउँमा रहेको डिपो कार्यालय र चौरजहारी नगरपालिकाको वितरण केन्द्र गरी पश्चिमका दुई ठाउँबाट सर्वसाधारणले आयोडिनयुक्त नुन लिइरहेका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा वितरण केन्द्रबाट पनि सर्वसाधारणले आयोडिनयुक्त नुन पाइरहेका छन् । मुसीकोट डिपोबाट तीन हजार सात सय, चौरजहारीबाट पाँच सय, रुकुमकोटबाट तीन सय र तकसेराबाट दुई सय क्विन्टल आयोडिनयुक्त नुन वितरण भइरहेको छ । स्थानीयले प्रतिपोका नौ रुपैयाँमै डिपो र वितरण केन्द्रबाट नुन खरिद गर्ने गरेका छन् । डिपो कार्यालययदेखि वितरण केन्द्रसम्मको ढुवानी पनि साल्ट ट्ेरडिङले गरिदिन्छ ।

यस वर्षदेखि रुकुमकोटबाट पनि आयोडिनयुक्त नन वितरण थालिएको डिपो प्रमुख गौतमले बताए । ‘जनताकै घरदैलोमा आयोडिनयुक्त नुन पुर्‍याऔं भन्ने उद्देश्य हो,’ गौतमले भने, ‘ढुवानी र अन्य समस्याका कारण सर्वसाधारणले ढिके नुन खाइरहेका थिए, त्यसलाई हटाउन पनि तिवरण केन्द्र स्थापना गरेर नुन वितरण भइरहेको हो ।’ दुई जिल्लाका लागि डिपो र तीन वितरण केन्द्रबाट वितरण हुने गरी यो वर्ष चार हजार सात सय क्विन्टल नुन आएको छ ।





error: Content is protected !!