६० घरको एउटै शौचालय

मानदत्त रावल
जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ५ का ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका भोलिपल्टको कामभन्दा शौच गर्ने चिन्ता हुन्छ । किनकि, घरमा शौचालय छैन, खुला शौच गर्न पाइँदैन । विक भन्छन्, ‘टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाउँछ,’ उनले भने, ‘शौच गर्नकै लागि बिहानै उठ्नुपर्छ, आफूलाई शौच लागेको वेला शौचालयमा हुल हुन्छ, घरमा शौचालय बनाउने जग्गा छैन ।’ ज्ञानबहादुरजस्तै जिल्ला सदरमुकाममा अवस्थित कालेखोली टोलका ६० घरपरिवारले विगत धेरै वर्षयता एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।
सबै टोलवासीले एउटै शौचालय प्रयोग गर्दा घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएका छन् । प्रेमबहादुर सिंह खानेपानी तथा सरसफाइमन्त्री हुँदा जुम्लालाई खुला दिसामुक्त घोषणा गरेका थिए ।
साँघुरो बस्तीमा घरैघर जोडिएकाले शौचालय बनाउने जग्गा नभएको स्थानीयको भनाइ छ । ‘हामीसँग घर बनाएको जग्गाबाहेक अन्य जग्गा छैन । सार्वजनिक शौचालयमा हुल गरेर शौच गर्न लाज लाग्छ, तर बाध्यता छ,’ स्थानीय हजला विकले भनिन्, ‘समुदायमा शौचालय नभएको थाहा पाउँदापाउँदै जिल्लालाई किन खुला दिसामुक्त घोषणा गरियो, हाम्रो समुदायको यो समस्या कसले सुन्छ रु’
कालेखोली टोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडा कार्यालयले निर्माण गरिरहेको सुविधासम्पन्न आधुनिक शौचालयको काम अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख लागतमा निर्माण भइरहेको शौचालय अपांग, लैंगिक र बालमैत्री हुनेछ । सोलार, विद्युत्, चिसो–तातो नुहाउने पानीसहित आवश्यक सामग्री पनि उपलब्ध हुनेछ ।
आधुनिक शौचालय निर्माणपछि कालेखोली टोलका समुदायले भोग्दै आएको शौच गर्ने समस्या हट्ने वडाध्यक्ष कठायतले बताए । ७५ प्रतिशत काम सम्पन्न भएकाले वैशाख मसान्तसम्म शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।
दुई तलामा निर्माणाधीन शौचालयको माथिल्लो ६ कोठा शौच गर्न र तल्लो तलामा व्यापारिक प्रयोजनका लागि दुईवटा सटर बनाइएका छन् । टोलभरिका स्थानीयले प्रयोग गर्दै आएको सार्वजनिक शौचालय पुनर्निर्माण भइरहेकाले तत्कालका लागि समस्या भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए । ‘शौचालय निर्माण सम्पन्नपछि चौकीदारको व्यवस्था गरिनेछ ।









