शैक्षिक अवस्था सुधार्न कुशेका १८ विद्यालयमा विद्युतिय हाजिरी

हेमन्त के सी
जाजरकोट, ११ बैशाख । शैक्षिक सुधारका लागि भन्दै यहाँको कुशे गाउँपालिकाका १८ वटा विद्यालयमा विद्युतिय हाजिरी सुरु गरिएको छ । गाउँपालिकाका आधारभुत र मावि तहका विद्यालयमा विद्युतिय हाजिरी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जानकारी दिए ।
शिक्षकहरु विद्यालयमा हाजिरी नगरि व्यक्तिगत काम गर्न थालेपछि कामचोर शिक्षकलाई तह लगाउँन विद्युतिय हाजिरी सुरु गरिएको अध्यक्ष वस्नेतले जानकारी दिए । ११ मावि र ९ वटा आधारभुत विद्यालयमा विद्युतिय हाजिरी सुरु गरिएको हो । विद्युतिय हाजिरी सुरु गरिए संगै विद्यालयमा शिक्षकहरु नियमित आउँने र शैक्षिक क्रियाकलापमा भाग लिने गरेको स्थानीयले बताएका छन् । दुर्गमका विद्यालय देखि सुगमका विद्यालय सम्म विद्युतिय हाजिरी सुरु गरिएको छ । कुशेगाउँपालिकामा ५४ वटा विद्यालय रहेका छन् । आउँदो आर्थिक वर्ष देखि गाउँपालिका भरि रहेका विद्यालय र सवै कार्यालयमा विद्युतिय हाजिरी सुरु गरिने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष वस्नेतले जानकारी दिए । सवै ठाउँका विद्युतिय हाजिरी जडान पछि त्यसको मुख्य कन्टोल गाउँपालिकाको कार्यालयमा राखेर विशेष अनुगमण गरिने उनको भनाई छ ।
विद्यार्थी कम भएका र टोलै पच्छे स्थापना भएका ४ वटा विद्यालय खारेज गरिएको छ । दरवन्दी विना सञ्चालनमा रहेका ७ वटा आधारभुत विद्यालयको कक्षा कोठा कटौति गरेर प्राविमा झारिएको गाउँपालिकाका अध्यक्ष वस्नेतले बताउनुभयो । विद्यालय , भौतिक संरचना र विद्यार्थी संख्य हेरेर विद्यालय गाभ्ने अभियान जारी रहेको उनको भनाई छ ।










