जाजरकोटमा कृतिम पशुगर्भाधानको परिक्षण सफल

कृतिम गर्भधान गराएका भैसीले पाडी र गाईले बाँच्छी जन्माए

जाजरकोट जिल्ला पशु सेवा कार्यालयले परिक्षणका रुपमा गराएको कृतिम पशुगर्भाधान पुर्णरुपमा सफल भएको छ । पहिलोपटक कृतिम गर्भाधानवाट भैसीले पाडी र गाईले बाँच्छी जन्माएपछि परिक्षण गर्भाधान पुर्णरुपमा सफल भएको हो ।

भेरी नगरपालिका–२ रिसाङकी सविता कार्कीको भैसीलाई गत वैशाख–२४ गते पशु चिकित्सक डा.ऋषिराम सापकोटाको टीमले आधुनिक प्रविधि प्रयोग गरी कृतिम गर्भाधान गराएको थियो । त्यसैगरी बरिण्ठ पशु विकास अधिकृत सुमिन्द्र यादवको टीमले भेरी नगरपालिका–४ निवासी माधव प्रशाद शर्माको गाईलाई गत आसार–१५ गते कृत्रिम गर्भाधान गराएको थियो ।

कृत्रिम गर्भाधान गराएको सविता कार्कीको भैसीले हाल पाडी जन्माएको छ भने, माधव प्रशाद शर्माको गाईले बाँच्छी जन्माएको छ । कृतिम गर्भाधानवाट जन्मेका पाडा–पाडी, बाँच्छी–बाँच्छीहरु उच्च नश्लको हुने हुदा दुध उत्पादनमा वृद्धि हुने पशु चिकित्सक डा.ऋषि सापकोटाको भनाई रहेको छ ।

कृतिम गर्भाधानको लागी भैसीमा मुर्रा जातको राँगाको र गाईमा जर्सी जातको वहरको बीर्य प्रयोग गरिने डा. सापकोटाले जानकारी दिए । उक्त बीर्यलाई विभिन्न उपकरणहरुको प्रयोग गरी गाई, भैसीले भाले खोजेको वेलामा पाठेघरमा राखी गार्भाधान गराइने डा. सापकोटाले वताए । गाई तथा भैसीले भाले खोजेको लक्षण देखिएको १२ देखी १८ घण्टाको बीचमा कृतिम गर्भाधान गरिनु पर्छ भेरी नगरपालिका पशुपन्छी शाखा प्रमुख समेत रहेका डा. ऋषिराम सापकोटाले भने– ‘आगामी दिनमा उक्त कृतिम गर्भाधान सेवा भेरी नगरपालिकाको यातायात पुगेका सबै स्थानमा निःशुल्करुपमा सञ्चालन गरिनेछ ।’

भेरी नगरपालिकाको पशुपन्छी शाखाले नगरपालिका भित्र उक्त सेवालाई अभियानका रुपमा कार्यक्रम संचालन गरीने लक्ष्य राखेको डा. सापकोटाको भनाई रहेको छ । कृतिम गर्भाधान गराइएका गाई र भैसीको स्याहारको लागी नगरपालिकाका तर्फवाट स्याहार खर्च समेत उपलव्ध गराइने कार्यक्रम राखिएको डा. सापकोटाले जानकारी दिए । नगरपालिका क्षेत्रमा उन्नत जातका गाई, भैसीको विकास गरि दुध उत्पादनमा वृद्धि गर्ने, कृषकहरुको आय–आर्जन वृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको नगपालिकाको पशुपन्छी शाखाले जनाएको छ । भेरी नगरपालिका पशुपन्छी शाखाद्धारा बाख्रामा समेत कृतिम गर्भाधान सेवा सञ्चालन गरिने वताईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!