भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नः बस्नेत

काठमाण्डौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा मन्त्री बस्नेतले मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा महसुस गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘अब संक्रमण कालको बहानामा जनताका काममा ढिलासुस्ती र हेलचेक्र्याईं गर्ने दिन सकिए’, मन्त्री बस्नेतले भने, ‘इमान्दारी र दृढतापूर्वक जनताको खुसीका लागि काम गर्नूस् ।’ जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार कर्मचारीले पुरानो कार्यशैलीमा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘राष्ट्रले समृद्धि र जनताले सुख पाउनुपर्छ’, बस्नेतले भने, ‘हामी मन्त्रीहरुलाई स्पष्ट रुपमा प्रधानमन्त्रीको यही निर्देशन छ, मुलुकलाई केन्द्रमा राखेर नतिजा देखिने गरी काम चाहिन्छ ।’ मन्त्री बस्नेतले मन्त्रालय र विभागका कामहरु पारदर्शी र जनता केन्द्रित हुनुपर्ने बताउँदै भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाए ।

जनताका काम गर्न कानुन वा ऐनले रोकेको भए सरकार त्यसलाई परिवर्तन गर्न तयार रहेको भन्दै उनले ऐन र कानुनको अर्घेल्याईं देखाएर पन्छने प्रवृत्ति सह्य नहुने स्पष्ट गरे । मन्त्री बस्नेतले मुलुकको झण्डै ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदान निराशाजनक रहेको भन्दै चिन्ता गरे । उनले आगामी दिनमा वन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा योगदान गर्नुका साथै रोजगारी सिर्जना गर्ने गरी कार्ययोजना ल्याउन पनि कर्मचारीलाई दिर्नेशन दिए । मन्त्री बस्नेतले राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति, दि टिम्बर कर्पोरेशन अफ नेपाल, वन पैदावार विकास समिति, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, भू–तथा जलाधार विभाग लगायतको ‘ब्रिफिङ’ लिनुभएका हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!