एसईईको चुनौती चिट

जाजरकोट — बिहीबारदेखि जाजरकोटका १९ परीक्षा केन्द्रमा माध्यमिक एसईई सञ्चालन हुँदैछ । परीक्षामा ५ हजार परीक्षार्थी सहभागी हुँदै छन् ।
परीक्षा सञ्चालनका लागि प्रश्नपत्र र उत्तरपुस्तिका लिएर केन्द्राध्यक्ष, सुरक्षाकर्मीलगायत जनशक्ति केन्द्रतर्फ परिचालन भइसकेको छ । तर उक्त परीक्षालाई यतिबेला चिटमुक्त र मर्यादित कसरी बनाउने भन्ने सम्बन्धित अधिकारीलाई चिन्ता छ । चिट तथा अमर्यादित परीक्षा प्रणाली, परीक्षा केन्द्रमा भौतिक व्यवस्थापनको कमी, वातावरणीय समस्यालगायत जाजरकोटमा सञ्चालन हुने एसईईका चुनौती हुन् ।
परीक्षार्थीको सिकाइ स्तर कमजोर हुनु, तयारी नहुनु, चिटका भरमा परीक्षा केन्द्रमा जाने र शिक्षकले नै परीक्षालाई अमर्यादित बनाउन खोज्नु एसईईका चुनौती भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।
त्यस्तै फर्निचर, कक्षाकोठा, भवन अभाव, पिउने पानी तथा शौचालयको अभाव, स्वास्थ्य उपचारको अभाव र दूषित वातावरण पनि परीक्षाका चुनौती भएको जिशिअ सिंहले बताए । जिल्ला शिक्षा कार्यालयले परीक्षा केन्द्रलाई छात्रामैत्री बनाउन तीन वर्षदेखि सेनेटरी प्याड उपलब्ध गराउने गरेको सिंहले बताए । परीक्षा केन्द्रमा परीक्षार्थीको आकस्मिक उपचार गर्न स्वास्थ्यकर्मीको व्यवस्थाका लागि स्वास्थ्य संस्थामा अनुरोध गरिएको उनले बताए । तर भौतिक तथा वातावरणीय समस्याका साथै शिक्षक र अभिभावकको अमर्यादित व्यवहारका कारण परीक्षा स्वच्छ रूपमा सञ्चालन गर्न चुनौती भएको जिशिअ सिंहले बताए ।
केही वर्षयता होम सेन्टर हटाउँदा पनि अर्को चुनौती थपिएको सिंहले बताए । भौगोलिक विकटता भएको जिल्लामा होम सेन्टर हटाउँदा परीक्षार्थी तनावमा रहने र अभिभावकमा आर्थिक व्ययभार बढेको सिंहले बताए । होम सेन्टरबाट जाँच दिन नपाउँदा यहाँका १९ विद्यालयका विद्यार्थी घरदेखि १र२ दिन टाढा रहेको केन्द्रबाट परीक्षा दिन बाध्य छन् । जसका कारण अभिभावकलाई बालबालिकाको आवतजावत, खाना र बस्ने खर्च जुटाउन हम्मेहम्मे भएको छ । एक परीक्षार्थीलाई २० हजार खर्चले नपुग्ने गरेको अभिभावक सेते पुनले बताए । अभिभावक र परीक्षार्थीलाई घर बाहिर बस्न, खाना र आउतजावत गर्न उक्त खर्च लाग्ने पुनले बताए । ‘यो प्रणालीले अभिभावकलाई खर्च बढाउनुका साथै बालकालिकामा तनाव बढाएको छ,’ पुनले भने । होम सेन्टर हटाउने परीक्षा प्रणालीका कारण यहाँका तीन हजार परीक्षार्थीले तनावपूर्ण वातावरणमै माध्यमिक शिक्षा परीक्षा दिन बाध्य हुने गरेका छन् ।
परीक्षा केन्द्र आसपासको असहज बसाइ, शुद्ध पिउने पानी तथा सरसफाइ गर्ने पानीको अभाव, दूषित वातावरण, अस्वस्थ भोजन, आवतजावतमा कठिनाइ, बिरामी पर्नेलगायतका कारण परीक्षार्थीलाई तनाव हुने गरेको छ । त्रिभुवन उच्च मावि खलंगा, जनता उच्च माध्यमिक, लक्ष्मीप्राप्ति उच्च माध्यमिक, मान्नेढुंगा उच्च माध्यमिक, सरस्वती उच्च माध्यमिक, बाल उच्च माध्यमिक, जनप्रिय उच्च माध्यमिक दशेरालगायत विद्यालयका विद्यार्थीले उक्त परीक्षामा तनाव बेहोर्ने गरेका छन् । जाजरकोटका १९ केन्द्रबाट ६४ विद्यालयका ५ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनेछन् ।
डोल्पामा चार परीक्षा केन्द्र
डोल्पा – यस वर्षको एसईई परीक्षाका लागि डोल्पामा चार परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा यस वर्ष ६ सय ६५ परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साधारणतर्फ ५ सय ६५ र प्राविधिकतर्फ ४७ गरी जम्मा ६ सय १२ जना र एक्जाम्टेडतर्फ ५३ जनाले परीक्षा दिनेछन् । राष्ट्रिय परीक्षा बोर्डले सरस्वती माध्यमिक विद्यालय दुनै, जनप्रभा मावि लिकु, आदर्श मावि जुफालमा गत वर्षसम्म परीक्षा गराउँदै आएको थियो । यस वर्ष त्रिपुरा मावि काइगाउँ केन्द्र थप भएको छ । केन्द्राध्यक्षका रूपमा सम्बन्धित परीक्षा केन्द्रका प्रधानाध्यापक तोकिएको जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले बताए । उनका अनुसार परीक्षाको तयारीका क्रममा केन्द्राध्यक्ष तोक्ने, केन्द्राध्यक्षलाई अभिमुखीकरण गर्ने काम सकिएको छ ।
सदरमुकाम दुनैदेखि टाढा रहेका परीक्षा केन्द्रहरू काइगाउँ र लिकुका प्रश्नपत्र र उत्तरपुस्तिका सोमबारै पठाइएको कार्यालयले जनाएको छ ।










