मन्त्री–सांसद काठमाडौंमा

सुर्खेत — राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि कर्णाली प्रदेशसभाका सांसद र मन्त्रीहरू संघीय राजधानी काठमाडौंतर्फ लागेका छन् । संविधानले प्रदेशसभाका सांसदलाई पनि संघीय सांसदसरह राष्ट्रपतिरउपराष्ट्रपति चुन्ने अधिकार दिएपछि उनीहरू काठमाडौं प्रस्थान गरेका हुन् ।
कर्णाली प्रदेशसभामा ४० सांसद छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ७ जना मन्त्री आइतबार साँझ प्रस्थान गरेका हुन् । उनीहरू सोमबार बिहान नेपालगन्जबाट जहाजबाट काठमाडौं पुग्दैछन् । प्रदेश राजधानी छाड्नु एक दिनअघि शनिबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
प्रदेशसभाका सभामुख राजबहादुर शाही शुक्रबारै काठमाडौं पुगेकाछन् । उनले गाडी, पीएसओ लिएका छैनन् । केही मन्त्रीले पीएसओमात्र लिएका छन् । उपसभामुख पुष्पा घर्तीसहितका अधिकांश सांसद काठमाडौं पुगिसकेका छन् । प्रदेशसभाले तत्काल ‘बिजनेस’ नपाएकाले सांसदहरू ‘फुर्सदिला’ बनेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी दैलेख र सुर्खेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले गृहजिल्ला पश्चिम रुकुम र सल्यान जिल्लाको भ्रमण सम्पन्न गरिसकेका छन् । अत्यावश्यक नीति तथा कार्यक्रम, विधेयकहरूको मस्यौदार कर्मचारी व्यवस्थापनलगायत काम गर्नुपर्ने भएकाले अधिकांश मन्त्री व्यस्त छन् ।
सरकारका प्रवक्ता एवं मन्त्री केसीले काठमाडौंमा समेत आफूहरूले समयको अधिकतम सदुपयोग गर्ने बताइन् ।










