८ महिनामा १७ कानुन

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकाले पहिलो गाउँसभा पछिका आठ महिनामा १७ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि गाउँ कार्यपालिकाले आवश्यक १७ वटा ऐन, नियम, नियमावली पास गरेको हो ।
गत साउन महिनामा बसेको पहिलो गाउँ सभाबाट ७ र फागुन महिनामा बसेको तेश्रो गाउँ सभाबाट १० वटा ऐन पास भएको गाउँ कार्यपालिकाले जनाएको छ । फागुन २० र २१ गते बसेको तेस्रो गाउँ सभाले गाउँ सभा सञ्चालन नियमावली २०७४, शिक्षा नियमावली २०७४, सहकारी ऐन २०७४, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, योजना बजेट तथा कार्यक्रम दिग्दर्शन २०७४ पारित गरेको छ । यसैगरी, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, सुशासन प्रवद्र्धन रणनीति तथा कार्य योजना २०७४, आर्थिक कार्यविधि व्यवस्थित तथा नियमित गर्न बनेको ऐन २०७४, फोहरमैला व्यवस्थापन नियमावली २०७४, बजार अनुगमन निर्देशिका २०७४ लगायतका ऐन तथा नियमावलीपनि गाउँ सभाबाट पारित भएको अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गत साउन महिनाको पहिलो गाउँ सभा तथा कार्यपालिकाले ७ वटा ऐन पारित गरेको थियो । आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, कार्य विभाजन नियमावली २०७४, बैठक तथा निर्णय प्रमाणीकरण २०७४, पदाधिकारी आचारसंहिता २०७४, कार्य सम्पादन नियमावली २०७४ र बैठक सञ्चालन नियमावली २०७४ पनि यसअघि नै पारित गरिएको थियो ।
तेस्रो गाउँसभाले पहिलो गाउँ सभाबाट विनियोजित बजेटको समीक्षा गरेको छ । पहिलो गाउँ सभाबाट विभिन्न शीर्षकमा विनियोजित बजेट खर्च नभएको तथा हुन नसक्ने अवस्थालाई ध्यान दिँदै बजेट रकमान्तर विनियोजन पनि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारीले तेस्रो गाउँ सभाले खर्च हुन नसकेको तथा हुन नसक्ने विभिन्न शीर्षकको बजेटलाई संशोधन तथा परिमार्जन गरेको जानकारी दिए । ‘तीव्र रूपमा कार्य सम्पादन गर्ने गरी पहिले विनियोजित रकमलाई रकमान्तर गर्ने निर्णय तेस्रो गाउँ सभाले गरेको छ, अब सोहीअनुसार काम हुन्छ,’ कुसारीले भने । अब अन्य शीर्षकको बजेट जलविद्युत् र अन्य काम गर्ने गरी विनियोजन गरिएको छ । तेस्रो गाउँ सभाबाट रकमान्तर विनियोजन गरिएको १५ लाख बजेटबाट १० लाखले विद्युत् गृह निर्माण र ५ लाखबाट गाउँबाट गाउँपालिकाको जीपीएस र जीआईएस गर्ने निर्णय भएको छ ।










