पाठेघर खस्ने समस्या बढ्दो

रुकुम (पश्चिम) — आठबीसकोट नगरपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या पाइएको छ । पाठेघरसम्बन्धी नि:शुल्क शिविरको क्रममा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको हो ।

आठबीसकोट नगरपालिकाको आर्थिक सहयोग तथा आधारभूत स्वास्थ्य तथा सरसफाइ कार्यालयको आयोजनामा राडीमा चार दिनसम्म शिविर चलेको थियो । शिविरमा आएका ९ सय २५ मध्य ८ सय जना महिलामा पाठेघर खस्ने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघर खस्ने समस्याबाट ग्रसितमध्येका ३९ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । ७ सय ६१ जनाको उचार शिविरमै गरिएको छ । आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल महतोले शिविरमा आएका अधिकांश महिलामा पाठेघर खस्ने समस्या भेटिएको बताए । भर्खरै पाठेघर खस्न थालेकादेखि ठूलै समस्यामा रहेका महिलाले शिविरबाट सेवा लिएका थिए ।

शिविरको क्रममा पाठेघर खस्ने समस्या ठूलो रहेका १९ जनाको शल्यक्रिया गर्न चौरजहारी अस्पतालमा रेफर गरिएको संयोजक महतोले बताए । ‘गाउँघरमा कामकाज नगरी हुँदैन, सुत्केरी हुँदा पनि स्वास्थ्यको ख्याल नगरिएपछिको परिणाम महिलाहरूले भोगिरहनुभएको पाइयो,’ संयोजक महतोले भने, ‘शिविरमा आएका अधिकांशमा पाठेघर खस्ने समस्या छ । फरक यत्ति हो कसैमा भर्खर समस्या सुरु भएको छ भने कसैमा धेरै भैसकेको छ ।’ सुत्केरी भएको समयमा पर्याप्त आराम नगर्नु, धेरै बच्चा जन्माउनेलगायतका कारणले महिलामा पाठेघर खस्ने समस्या हुन्छ ।

सानै उमेरमा बच्चा जन्माउनाले पनि पाठेघरमा समस्या हुने गरेको छ । आठबीसकोट नगरका अधिकांश महिलामा सानै उमेरमा बच्चा जन्माएको तथा राम्रोसँग सुत्केरी स्याहार नपुगेका कारण धेरैमा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्य संयोजक महतोले बताए । पाठेघर खस्ने समस्या भएकोथाहा भएका कतिपय महिला शिविरमा आउन सकेनन् । सबै महिलाको स्वास्थ्य परीक्षण गर्ने हो भने अरूमा पनि यस्तो समस्या हुन सक्ने चिकित्सकले बताएका छन् ।

पाठेघर खस्ने समस्यामा परेका ३९ महिलाको चौरजहारी अस्पतालमा शल्यक्रिया हुने भएको छ । अस्पतालसम्म जाने–आउने र शल्यक्रियासमेतको खर्च आठबीसकोट नगरपालिकाले तिरिदिने भएको छ । प्रतिमहिला २७ हजारका दरले शल्यक्रिया शुल्क तिर्ने गरी अस्पतालसँग सम्झौता गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।

नि:शुल्क पाठेघरसम्बन्धी शिविरमा आएका धेरैमा पाठेघर खस्ने समस्या भयानक पाइएको उनले बताए । महिला र परिवारका अन्य सदस्यले महिलाको स्वास्थ्यमा ख्याल नगर्दा पाठेघर खस्ने समस्या ठूलो हुँदै गएको पाइएको उनको भनाइ छ । ‘महिला र परिवारका कुनै पनि सदस्यले सुत्केरी हुँदाको महिलाको स्वास्थ्यलाई ख्याल नपुर्‍याएको देखियो,’ नगर प्रमुख केसीले भने, ‘अब नगरले चेतनामूलक कार्यक्रम गरेर यसको न्यूनीकरणमा जोड दिने गरी नयाँ कार्यक्रम बनाउने गरी लाग्छ ।





error: Content is protected !!