यी हुन पार्टी एकताका लागि एमाले र माओवादीबीच हुन लागेको ७ बुँदें सहमति


काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा भएका वार्ता र छलफलबाट पार्टी एकताको मोडालिटीमा सहमति भएको छ ।
ओली र प्रचण्डबीच वार्ता सकिए लगत्तै दुवै पार्टीले आ–आफ्ना शीष नेतृत्व तहमा छलफल गरेर अहिले पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । जारी संयोजन समितिको बैठकमा दुई अध्यक्षबीच भएका भनिएका सहमतिमा गहन छलफल भइरहेको बताइएको छ ।
बैठकले एकताको अन्तिम खाका तयार पार्ने छ ।
यसरी हुँदै छ माओवादी र एमालेको पार्टी एकतामा सहमति
१ एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन् ।
२ अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम ( साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने छन्।
३ एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने
४ एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने
५ एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
६ दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।
७ राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।
यी बुँदालाई विस्तृत रुपमा लिपिबद्ध गर्दै एकताको अन्तिम खाका तयारमा एकता संयोजन समितिमा छलफल भइरहेको छ ।










