नयाँ जिल्लालाई प्रशासनिक झमेला

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका १, लागिम माथिगाउँ रुकुम पश्चिमका देवबहादुर हमालले जग्गा बिक्री गरे । तर, उनले बिक्री गरेको जग्गा आफ्नै जिल्लामा रजिस्ट्रेसन पास भने गर्न पाएनन् ।

जग्गा बिक्री गरेको र रजिस्ट्रेसन पास गर्न रुकुम पश्चिम जिल्लाबाट सिफारिस बोकेर रुकुम पूर्व पुग्नुपर्यो । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ की जयकुमारी पौडेलले छिमेकीको घरजग्गा किनिन् । आफूलेकिनेको जग्गा पास गर्नपौडेल पनि अर्कै जिल्ला नपुगी भएन । किनिएको जग्गा
आफ्नो नाममा ल्याउन उनी अर्कै जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित मालपोत
कार्यालय पुगिन् ।
हमाल र पौडेल मात्र होइन, बाँफिकोट गाउँपालिकाका १ र २ नम्बर वडाका बासिन्दालाई बिक्री गरेको जमिन खरिदबिक्री गर्दा पास गर्न जिल्ला छाड्नुपर्ने बाध्यता छ । साबिकको रुकुम जिल्ला रुकुम ९पश्चिम० र रुकुम ९पूर्व० भनेर दुई जिल्ला बनेपछि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ नम्बर वडाका सर्वसाधारणले दुस्ख पाएका हुन् । २०७२ असोज ३ गते जारी संविधानको अनुसूचीमै रुकुम जिल्ला दुईवटा प्रदेशमा परेको छ । रुकुम पूर्व ५ र रुकुम पश्चिम ६ नम्बर प्रदेशमा संविधानको अनुसूचीमा उल्लेख छ । सोही अनुसार गत असोज १९ गतेदेखि विधिवत् रूपमा साबिकको रुकुम दुईवटा रुकुम पश्चिम र पूर्वमा विभाजन भएपछि घरजग्गा बिक्री गरेका तथा किनेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको २ वटा वडाका सर्वसाधारणले दुई जिल्लाबाट सेवा लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
एउटै जिल्लामा हुनुपर्ने काम दुई जिल्लामा गर्नुपर्दा झन्झट भएको हमालले बताए । ‘एउटै जिल्लामा सरासर हुनुपर्ने काम दुई जिल्लामा गर्दा अप्ठ्यारो र झन्झटिलो छ,’ हमालले भने । रुकुम एउटै जिल्ला हुँदा र स्थानीय निकाय स्थानीय तह नहुँदै साबिकको पीपल गाविस तथा हालको बाँफिकोट गाउँपालिकाको १ र २ नम्बर वडावासी रुकुमकोट इलाकाअन्तर्गत पर्दथे । घरजग्गा पास दिन तथा लिन, नागरिकता बनाउन, राहदानी बनाउन तथा सिफारिस लिन तथा अन्य प्रशासनिक कामका लागि
रुकुमकोटै पुग्नुपथ्र्यो ।
स्थानीय तह निर्धारणका क्रममा जिल्ला मात्रै होइन, प्रदेश पनि फरकफरक परेका छन् । जिल्ला र प्रदेश फरक परे पनि सरकारी सेवा लिने अवस्था भने उही पुरानै छ । घरजग्गा पास दिने, लिने, नागरिकताको प्रतिलिपि लिन तथा राहदानीको सिफारिस वा जानकारी लिन तथा नापी नक्साका काम गर्न रुकुम पूर्व पुग्नैपर्ने बाध्यता रुकुम पश्चिम बाँफिकोट गाउँपालिका १ र २ नम्बर वडाका सर्वसाधारणलाई छ । उक्त २ वडाका कागजात रुकुम पूर्वबाट पश्चिममा नल्याइएपछि समस्या भएको हो ।
घरजग्गा पास लिन तथा दिन जिल्ला मालपोत कार्यालय, नापी शाखा रुकुम पश्चिम र नागरिकताको प्रतिलिपि राहदानी लगायतका अन्य प्रशासनिक काममा आवश्यक स्रेस्ताहरू जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नल्याउँदा सर्वसाधारणले दुस्ख पाउनुपरेको २ नम्बर वडा अध्यक्ष धनबहादुर खत्रीले बताए । एउटा जिल्ला दुईवटा भएको लामो समय भइसक्दा पनि मालपोत र प्रशासनले आवश्यक स्रेस्ताहरू जिल्लामा झिकाउन नसक्नु कमजोरी भएको उनको भनाइ छ । बाँफिकोट गाउँपालिकाले १ र २ वडाका आवश्यक स्रेस्ताहरू झिकाउन भनेर जिल्ला मालपोत कार्यालय रुकुम पश्चिम र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई आग्रह पनिगरिसकेको छ ।
‘आधिकारिक रूपमा चिठी लेखेरै जनताले दुस्ख पाए, हाम्रो गाउँपालिका १ र २ नम्बर वडाका आवश्यक कागजात हाम्रै जिल्लामा झिकाइदिनू भन्ने ब्यहोराको चिठी माल र प्रशासनलाई लेखेको हो,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘तर अहिलेसम्म पनि त्यसको कुनै वास्ता भएजस्तो लागेको छैन ।’ रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले नागरिकताको प्रतिलिपिका लागि रुकुम पूर्व जिल्ला जानु नपर्ने, फोनमार्फत सेवाग्राहीको काम भइरहेको बताए ।
जिल्ला प्रशासनको काम सजिलै भए पनि मालपोत र नापीको काम गर्न उतै जिल्ला जानुपर्ने प्रजिअ आचार्यले बताए । जिल्ला प्रशासन कार्यालयको आवश्यक फाइल झिकाउने काम सुरु भइसकेको भन्दै उनले नापी र मालपोत विभागले रुकुम पूर्वमा रहेका नापी र मालपोतका मोठ रुकुम पश्चिममा सार्नेबारे निर्णय गरिदिनुपर्ने भएकाले ढिलाइ भएको बताए ।










