वाम एकतालाई अवमूल्यन गर्ने अधिकार कसैलाई छैन : नेता बस्नेत


काठमाडौँ — माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले वाम एकतालाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले झण्डै दुई तिहाई मतले अनुमोदन गरेको वाम एकतालाई यो वा त्यो नाममा अवमूल्यन अधिकार कसैलाई नभएको बताएका हुन् । उनले भने, ‘वाम एकता राष्ट्रको आवश्यकता र जनताको चाहना हो ।’ एमाले र माओवादी केन्द्रबीच एकताको गृहकार्य जारी रहेको बेला नेा बस्नेतको यस्तो भनाइ सार्वजनिक भएको हो ।
एकअर्काको सह-अस्तित्व स्वीकार्न नसक्नेहरु एकताविरोधी भएको आरोप लगाउँदै पूर्वगृहमन्त्री बस्नेतले वाम एकतालाई सहज बनाउन एकअर्काको संवेदनशीलतालाई बुझ्नुपर्नेमा जोड दिए । उनले एकता केही मान्छेको जमघट मात्र नभएर समग्र विचार, भावना र दृष्टिकोणको सम्मिलन भएको बताए ।










