मुगुमा निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

मुगु जिल्लामा पहिलो पटक निशुल्क सुरक्षित गर्भपतन सेवा प्रारम्भ भएको घोषणा गरिएको छ ।
पहिले महिलाहरुले एक हजार तिरेर अस्पातलमा गर्भपतन गराउनु पथ्र्यो भने अब निशुल्क गरिने भएको छ । निशुल्क गर्भपतन जिल्ला अस्पतालमा मात्र नभएर जिमा, रातापानी, पुलु र श्रीकोट स्वास्थ्य केन्द्रमा समेत सेवा सुरु गरिएको छ ।
जिल्लामा निशुल्क गर्भपतन सेवा सुरु गरिएको अस्पतालमा कार्यरत सिनियर अनमी पुण्यप्रभा देवकोटले बताईन् । उनका अनुसार करिब १२ हप्तामुनिको गर्भलाई अस्पतालमा र ९ हप्तामुनिको गर्भलाई स्वास्थ्य केन्द्रमा गरिने छ ।
महिलाले गर्भपतन गराउँदा हिडेर जिल्ला अस्पातल आउनु पर्थ्यो भने अब गाउँघरकै स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा संचालन हुँदा महिलालाई निकै सहज भएको देवकोटाको भनाई छ । गाउँघरका अशिक्षित महिलाले लुकिछिपी गर्भपतन गराउँदा ज्यान जोमिख हुने रक्तअल्पता भई डोको स्टेचरमा बोकेर अस्पताल ल्याउनु पर्ने अवश्था अन्त भएको उनले बताईन् ।
जिल्ला अस्पतालमा सुरक्षित निशुल्क गर्भपतन सेवामा डाक्टर ज्ञानेश्वर श्रेष्ठ मिना काफ्ले र सिनियर अनमी पुण्यप्रभा देवकोटाले तालिम लिएर सेवा प्रदान गर्ने भएका छन् । ज्ञानुमाया मल्ल, प्रबिणा रावत, गीता कार्की लगायत ५ जना अनमीलाई सुरक्षित गर्भपतनको तालिम दिएर स्वास्थ्य केन्द्रमा खटाइएको जिल्ला अस्पतालले जानकारी गराएको छ ।










