आठबीसकोट नगरपालिकामा डिजिटल हाजिरीको सुरुवात

रुकुम पश्चि आठबीसकोट नगरपालिकाले डिजिटल हाजिरीको सुरुवात गरेको छ । शुसासन कायम गर्न, कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउन डिजिटल हाजिरीको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै प्रविधिको प्रयोग गर्दै कामलाई सजिलो बनाउँन पनि डिजिटल हाजिरीको व्यवस्था गरिएको नगरपालिकाको भनाई छ । करिब १० हजारमा डिजिटल हाजिरी मेसिन खरिद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

‘नगरपालिकामा ई–गभरनेन्स लागु गर्ने लक्ष अन्तरगत नगरपालिकाको कार्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरिएको हो केसीले भने–डिजिटल हाजिरी संचालनमा आएपछि परम्परागत शैलिमा रजिष्टरमा हाजिरी गर्नुपर्ने झन्झट हटेको छ भने कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन दबाव पुगेको छ ।’ कुन कर्मचारी कतिबेला कार्यालयमा उपस्थित भयो र कतिबेला कार्यालयबाट निस्कियो भन्ने सम्मको सबै विवरण अव सजिलै कैद भैरहेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

सबै वडा कार्यालयमा पनि डिजिटल हाजिरी राखिने
नगपालिकाको कार्यालयबाट डिजिटल हाजिरीको सुरुवात गरिएकामा अब यसलाई सबै १४ वटै वडामा पनि पुर्याइने नगर प्रमुख गोर्खबहादुर केसीले बताए । ‘डिजिटल हाजिरीका लागि बिद्युत र इन्टरनेट आवश्यक पर्ने भएकाले अहिले तत्काल नगरपालिकाबाट डिजिटल हाजिरीको सुरुवात गरेका हौं, उनले भने–सबै वडामा बिद्युतको व्यवस्था छ, र इन्टरनेट पुगेपछि डिजिटल हाजिरी सुरु हुन्छ ।’ बैकल्पिक उर्जाबाट सबै १४ वटै वडा कार्यालयमा बिद्युतको व्यवस्था गरिएको तथा केही वडामा इन्टरनेट समेत जडान गरिएको उनको भनाई छ । अन्य वडामा पनि इन्टरनेट जडानको काम भैरहेको नगर प्रमुख केसीले बताए ।

त्यस्तै सुरुमा प्रत्येक वडाका एक, एक ओटा विद्यालयमा समेत डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको केसीले जानकारी दिए । परिक्षणका रुपमा एउटा वडाको एउटा गरी १४ ओटा बिद्यालयमा डिजिटल हाजिरी जडान गर्ने र त्यसका आधारमा नगरपालिका भित्रका सबै बिद्यालयमा डिजिटल हाजिरी जडान गरिने छ । ‘सबै कुरालाई सिष्टममा ल्याउँने हाम्रो अभियान हो, नगर प्रमुख केसीले थपे–कुन ठाउँमा के भैरहेको छ भन्ने कुरा हामिले पनि हेर्न सकौ र अरुलाई पनि देखाउँन सकौँ ।’ नगरपालिकालाई हरेक कुरामा नमूना बनाई छाड्ने अठाट आफुले लिएको स्मरण गर्दै उनले कसरी अरु भन्दा नयाँ र जनमुखि हुन सकिन्छ भन्नेमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!