जुम्लामा उज्यालो अभियान सुरू

मानदत्त रावल जुम्ला

एक दशकअघि सडक सञ्जालले जोडे पनि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् नजोडिएको जुम्लामा ‘उज्यालो जुम्ला’ अभियान सुरु भएको छ । यहाँबाट निर्वाचन प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले ‘उज्यालो जुम्ला’ अभियान थालेका हुन् । सांसद महतले भने, ‘जुम्लालाई उज्यालो बनाउने धोको थियो, सांसद भएपछि त्यसलाई पूरा गर्नतर्फ लागेको हुँ ।’ अभियानअन्तर्गत यहाँका सबै नदीनालामा विद्युत् उत्पादनका लागि अध्ययन सुरु भएको छ । इन्जिनियरको टोली लिएर सांसद महत ‘फिल्ड’मा खटिएका छन् ।

अहिले तिला र हिमा नदीमा अध्ययन भइरहेको उनले बताए । उनले भने, ‘अहिले सर्भे कार्य भइरहेको छ, त्यसपछि साना–ठूलो आयोजनाको निर्माण सुरु हुन्छ ।’ तिला गाउँपालिका–७ स्थित तिला नदीमा एक मेगावाट विद्युत् उत्पादन हुने अध्ययनमा देखिएको छ । यसका लागि १५ देखि २० लाख रुपैयाँ लाग्ने बताउँदै उनले भने, ‘गाउँपालिका र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको पैसा लगाउँछौँ, तीन वर्षभित्र विद्युत् उत्पादन हुन्छ ।’ गाउँपालिकासँग समन्वय गरेर सबै नदीनालामा अध्ययन गरिने उनले बताए । गाउँपालिकाले लगानी गर्ने र थप लगानी जुटाउने कार्य आफूले गर्ने उनको भनाइ छ ।

सांसद महतले भने, ‘स–साना योजनामा रकम खर्च गर्नुभन्दा वृहत् योजनाबाट जनताको आवश्यक परिपूर्ति गर्न सजिलो हुन्छ ।’ पुराना योजनाको मर्मतसम्भार गर्ने र नयाँ योजना निर्माण गर्दै केही वर्षभित्रै छिमेकी जिल्लालाई विद्युत् बेच्न सक्ने गरी अभियान सुरु गरिएको उनको भनाइ छ




सम्बन्धित समाचार


error: Content is protected !!