अन्नतत् कांग्रेसपनि सहभागी

रुकुम(पश्चिम) १५, मंसिर / पुनः मतदानमा सहभागी नहुने निर्णय गरेको नेपाली कांग्रेस अन्तत सहभागी भएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै आज पुनः मतदान हुने मध्य आठविकोट ११ को नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रको मतदानमा सहभागी नहुँने निर्णय गरेको कांग्रेसले अन्तिम समयमा सहभागी हुने निर्णय गरेको हो । उक्त केन्द्रमा प्रतिनिधि बसेका कांग्रेसका केशववहादुर खड्कालाई मतपेटिकामा एसिड खसालेको भन्दै प्रहरीले पक्राउ गरेपछि कांग्रेस आठविसकोटले खड्काको रिहाइको माग गर्दै मतदानमा सहभागी नहुने निर्णय गरेको थियो ।
तर बिहिबार जिल्ला सभापति प्रेमप्रकास ओली सहितको टोलीले आठविसकोटमै पुगेर स्थानीय पार्टी पंक्ति संग छलफल गर्दै संघर्षका कार्यक्रम सहित मतदानमा सहभागी हुने निर्णय गरेको हो । पक्राउ परेका कार्यकर्ताको रिहाइका लागि संघर्षका कार्यक्रम सहित लोकतन्त्रको रक्षाका लागि मतदानमा सहभागी हुने निर्णय भएको जिल्ला सभापति ओलीले बताए । मतदान केन्द्रमा खटिएका कांग्रेस प्रतिनिधि केशववहादुर खड्कालाई बिना कारण पक्राउ गरी झुट्टा मुद्दा चलाईएको कांग्रेसको आरोप छ ।
खड्कालाई बिना शर्त रिहाइ नगरिय कडा संघर्षका कार्यक्रममा उत्रिने निर्णय समेत भएको सभापति ओलीको भनाई छ । कांग्रेसले मतदान बहिष्कार गर्दा लोकतन्त्र खतरामा पर्ने भएकाले आफुहरु संघर्ष गर्दै मतदानमा सहभागी हुने निष्कर्षमा पुगेको सभापति ओलीले स्पष्ट पारे । कांग्रेस बिहिबार मतदान अधिकृतले बोलाएको सर्वदलिय बैठकमा समेत सहभागी भएको थिएन ।










