२ मतदान केन्द्रमा पुनः मतदान

रुकुम(पश्चिम) आईतबार मतदान स्थगित भएका रुकुम(पश्चिम)का २ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । आईतबार मतदानका क्रममा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्दा मतपेटिकामा आगलागि भएपछि २ मतदान केन्द्रको मतदान स्थगित भएको थियो । दुबै मतदान केन्द्रमा शान्तिपुर्ण वातावरणमा मतदान चलिरहेको बताईएको छ ।
मतदाताहरु मतदान केन्द्रमा आईरहेको र मतदान गरिरहेको बाँफिकोट ५ मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आईतबार सुरक्षा चेकजाचका विचपनि मतदाताले एसिड लुकाएर लिन सफल भएपछि आज सुरक्षा चेकजाचलाई झनै बढाईएको छ । बाँफिकोट ५ मा प्रतिनिधि सभा र आठविसकोट ११ मा समानुपातिक सदस्यका लागि पुनः मतदान भैरहेको हो । अन्य सदस्यका लागि भने आईतबारै मतदान भएको थियो । मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।










