‘फोरमबाटै कोरम पुर्याएर नयाँ घरबार जोरम्’ माओवादीबिनै सरकार बनाउने विकल्प सोच्दै ओली

काठमाडौं– जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले फेसबुकमा स्टाटस लेखेका छन्, ‘फोरमबाटै कोरम पुर्याएर ‘नयाँ घरबार जोरम्’ हो र ? सम्बन्ध जेरीजस्तो जेलिएला ? भेटघाट, भलाकुसारी उमेर पुगेका ठिटाठिटीको मुखामुख, डेटिङ एउटा कुरा, बिहे त भरपर्दो र टिकाउ जोडीसँगै हुने होला नि ?
श्रेष्ठको संकेत थियो, एमालेले पछिल्लो समय चुनावी सहयात्री माओवादी केन्द्रलाई बाइपास गरेर सरकार गठनका लागि गरिरहेको भित्री तयारीतर्फ । गठबन्धनलाई एकताको स्वरुप दिने विषयमा माओवादीसँग खटपट चलिरहेको बेला नयाँ गठबन्धनको पहलबारे संकेत गर्दै छलफल जतासुकै भएपनि सरकार भने भरपर्दौ र टिकाउ बनाइनु पर्ने उनको जोड छ ।
वाम गठबन्धनमा खटपट आएको चर्चा चलिरहेको बेला सरकार गठनमा विकल्पबारे समेत चर्चा सुरु भएको छ । एमाले अध्यक्ष तथा ‘वेटिङ प्राइममिनिस्टर’ का रुपमा हेरिएका केपी ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसँग छलफल नै थालेपछि यसमा थप बल पुगेको छ ।

ओलीले फोरम अध्यक्ष यादवसँग शुक्रबार बालकोट निवासमा भेट गरेका थिए भने भट्टराईसँग पनि सोमबार बिहान छलफल गरेका थिए । यो भेटको उद्देश्य थियो, सम्भावित नयाँ गठबन्धन । तर, उक्त दुई भेटबारे यादव र भट्टराईले सरकार निर्माणसँग सम्बन्धित नभएको दाबी गर्दै आएका छन् ।
पछिल्लो समय सरकार निर्माणमा समकिरण बनाउने कुरामा संघीय समाजवादी फोरम निर्णायक शक्ति बनेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक–अर्कालाई दबाबमा राख्न खोजिरहेको बताइन्छ ।
सोहि अनुसार ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरिरहेका छन् । यसमा ओलीको छलफल लिस्टमा बाबुरामसमेत परेपछि कतै माओवादी बिनै ओली सरकार निर्माणमा जुटको त हैन भन्ने आशंका उत्पन्न भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ र नयाँ शक्तिको १ जोड्दा १३८ सिट पुग्छ । यही बुझेर ओली यो विकल्प खुल्ला राख्दै छलफलमा जुटेको स्रोतहरु बताउँछन् ।
यद्यपी, प्रचण्डनिकट स्रोत भने वाम गठबन्धन नेतृत्वमै सरकार गठन हुने बताउँछ । प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले वाम गठबन्धन सरकार बन्ने भन्दै बाहिर आएका हल्लाहरु गलत भएको दाबी गरे । आजै प्रचण्ड चितवनको कार्यक्रम सकेर काठमाडौं फर्किने र त्यसपछि छलफल सुरु हुने बताउँदै उनले भने, ‘ आज दिउँसो ३।०० बजे आफ्ना मतदातालाई धन्यवाद दिने कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड काठमाडौं फर्कने कार्यक्रम रहेको छ, त्यसपछि पार्टी एकता, राष्ट्रिय सभा विधेयक र सरकार गठनका सम्बन्धमा गहन छलफल हुनेछ। हरहालतमा बामपन्थी सरकार बन्छ र पार्टी एकता हुनेछ । केही दिनयता गरिएका आशङ्का र अन्यौलको अवस्था १–२ दिनमा अन्त्य हुनेछ ।’
यी पनि हुन सक्छन् सरकार गठनका विकल्प
भनिन्छ, राजनीतिमा सम्भावना नहुने भन्ने कुनै चिज हुँदैन । निर्वाचनपछि बन्ने पहिलो विकल्पको सरकार भनेको वामगठबन्धनको नै हो । तर, अहिले ओलीले नै विकल्प खोज्दै छलफल थालेको भनिएको बेला अन्य विकल्प पनि देखिएका छन् ।
पहिलो विकल्पः एमालेकै नेतृत्वमा वाम सरकार
एमाले १२१
माओवादी केन्द्र स् ५३जम्मा १७४ सांसदको बहुमतको वाम सरकार
ओली छलफल थालेको दोस्रो विकल्पः माओवादी विनाको एमालेकै नेतृत्व
एमाले १२१
फोरमको १६
नयाँ शक्तिको १
जम्मा १३८ सांसदको बहुमतीय सरकार ९नोट यसमा राजपाको पनि साझेदारीको विकल्प रहन्छ०
तेस्रो विकल्पः काङ्ग्रेससहितको सरकार
काङ्ग्रेसका ६३
माओवादी ५३
राजपाका १७
फोरमका १६ सांसद
जम्मा १४९ सांसदको एमाले बाहेकको गठबन्धन सरकार
ओलीले छलफल थालेको विकल्प कठीन
एमाले अहिले सबैभन्दा ठूलो दल बनेको छ । उसले अहिले प्रत्यक्षमा मात्र ८० जितेको छ । समानुपातिक जोड्ने १२१ सिट पुग्छ । यदि बाम गठबन्धनमा तिक्तता आएर सरकार बन्ने अवस्था बनेन भने एमालेले फोरमका साथै अर्को मधेसी दल राजपाको सहयोगमा पनि सरकार बनाउन सक्छ । तर, त्यो सम्भावना निकै कठीन देखिन्छ । मधेशलाई हेर्ने विषयमा आकाशजमिनको फरक रहेको एमाले र मधेशवादी दलहरु सहज रुपमा एक ठाउँमा आउने आधार कम छन् । तर यहाँ पनि राजनीतिमा असहज भनेका कुरा सहज हुन पनि सक्छन् ।
नाकाबन्दीको समयमा नाकामा गएर धर्ना दिएका केहि नेताहरु अहिले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका छन् ।
हिजो सबै भन्दा राष्ट्रघाति भनेका नेताहरुलाई चुनाव चिन्ह दिएर मैदानमा उतारको हो एमालेले । अहिले एमालेको सूर्य चिन्हमा चुनाव लडेर विजयी भएका नेताहरु नै नाकाबन्दीको समयमा एमालाई ‘महेन्द्र राष्ट्रवादी’ भएको आरोप लगाउथे । तर, राजनीतिमा अहिले सबै सम्भव भएको छ । यो संभावना पनि नहोला भन्न सकिँदैन ।
जसरी निर्वाचन सकिएसँगै वाम गठबन्धनका प्रमुख दुई नेताहरुका फरक–फरक अभिव्यक्ति आएका छन् । दई पार्टीका दुई अध्यक्षका अभिव्यक्तिले राम्रो संकेत नगरेको पनि देखिन्छ । राष्ट्रिय सभा गठनदेखि आलोपालो सरकार र पद बाँडफाडको विषयमा एमाले र माओवादी नेताहरुको बोलीमा तादम्यता देखिएको छैन । चार दिन राजधानी बाहिर हुँदा प्रचण्डको आलोपालो सरकार र राष्ट्रिय सभा गठनबारे अभिव्यक्तिले एमाले सशंकित बनेको हुनसक्छ ।
कम्युनिष्टको समस्या
नेपालमा गठबन्धनको अभ्यास पहिलो पटक भएको छ । त्यो पनि दुई कम्युनिष्ट पार्टीहरु बीच । कम्युनिष्टको इतिहास हेर्ने हो भने नेपाल कम्युष्टि पार्टीको तेस्रो महाधिवेशन पछिबाट विभाजनको यात्रा सुरु भएको छ । बल्लबल्ल गठबन्धनबाट एक ठाउँमा आएका कम्युनिष्टमा पुनः पुरानै रोग नलाग्ला भन्न सकिदैन ।
प्रचण्डले पार्टी एकता पछि सम्मानजनक स्थान नपाए वा एकीकृत पार्टीको अध्यक्ष नपाएको अवस्थामा के केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्लान् भन्ने प्रश्न प्रमुख छ । ओली प्रधानमन्त्री भएपछि एमाले महासचिव ईश्वर पोखेरलको भनाई जस्तै एकीकृत पार्टीको अध्यक्ष र संसदीय दलको नेता पनि ओली आफै बने एमाले र माओवादीमा मिलेर बनेको सरकारमा नयाँ खेल सुरु हुने खतरा पनि उत्तीकै देखिन्छ ।










