माेदिले टेलिफोन गरि भने – सरकार गठनपछि ओलीलाई भारत भ्रमणको निम्तो

पर्शुराम काफ्ले काठमाडौं,
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज टेलिफोन सम्वाद गरेका छन् । मोदीले नेतात्रयलाई प्रतिनिधिसभामा निर्वाचित भएकोमा व्यक्तिगत बधाई दिएका छन् भने निर्वाचन सफल भएकोमा नेपाललाई नै बधाई दिएका छन् ।
निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरेका थिए ।
मोदीले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गरेका छन् । एमाले नेता प्रदिप ज्ञवालीका अनुसार, मोदीले ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको पनि बताएका थिए ।
ओलीले प्रत्युत्तरमा आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताउँदै यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताएका थिए । ओलीले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई निमन्त्रणा दिए ।
देउवालाई मोदीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रचण्डलाई पनि मोदीले सञ्चोविसञ्चो सोधेको, निर्वाचित भएकोमा बधाई दिएको उनका सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।










