नलसिंङगाड जलविद्युत् आयोजना ओझेलमा

वीरबहादुर गिरी / जाजरकोट
जाजरकोटमा निर्माण हुने देशकै ठूलो मध्येको एक, ४ सय १० मेगावाटको जलाशययुक्त नलसिंहगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । विकास समितिमार्फत सञ्चालन भइरहको यो आयोजनाको काम कम्पनी मोडेलमा लिइएसँग ओझेलमा परेको हो । १ वर्ष अघिदेखि जग्गाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्यले गति लिन सकेको छैन । त्यस्तै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कार्य पनि पूरा हुन सकेको छैन । हाइड्रोपावर कम्पनीको आझेलमा परेसँगै जग्गा अधिकरणमा परेका जग्गाधनीले समेत समयमा मुआब्जा पाउन सकेका छैनन् । नलगाड जलविद्युत् आयोजना विकास समितिलाई नलगाड हाइड्रो पावर कम्पनीमा परिवर्तन गरेयता उक्त आयोजना ओझेलमा परेको स्थानीयको आरोप छ ।

‘विकास समितिमार्फत काम हुँदा आयोजना स्थलमा चहलपहलका साथ काम हुन्थ्यो अहिले सुनसान छ,’ त्रिवेनीनलगाड नगरपालिका ७ का वडा अध्यक्ष अर्जन सिंहले भने । न्यून बजेट, जनशक्ति र स्रोत साधनको अभावका कारण आयोजना निर्माणले गति नलिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीले बताउँछन् । कम्पनी मोडेलमा गएर कामले गति नलिएको होइन व्यवस्थापन हुँदै छ, कार्यकारी अधिकृत भण्डारीले दाबी गरे । तर कम्पनी मोडेलबाट काम सुरु भएसँगै आयोजनाको काम लथालिंग भएको जाजरकोटवासीको गुनासो छ । अब त आयोजनाको काम के हुने हो भन्ने चिन्ता बढेको नागरिक अगुवा केशवजंग शाहले बताए ।

चालू आर्थिक वर्षमा मुआब्जा वितरणका लागि १ करोड मात्र बजेट रहेको छ । जुन ४० रोपनीलाई पनि नपुग्ने कम्पनीले जनाएको छ । आयोजनाले हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गरेको छ । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिकरण गर्नु पर्नेछ । आयोजनाले निर्माण स्थल आसपासको २ सय रोपनीका जग्गा अधिकरणका लागि तत्काल १२ करोड मुआब्जा रकमको आवश्यकता पर्ने बताएको छ ।

त्यस्तै, आयोजनाको कन्स्ट्रक्सन पावर निर्माण, जग्गा अधिकरण, बाँधस्थलसम्मको पहुँच मार्ग निर्माण, १ सय १२ किलोमिटर दुरीको ४ सय केभी प्रसारण लाइन, कार्यालय भवन निर्माण, वातावरण अध्ययन तथा बस्ती विकासलगायत कार्य अलपत्र परेका छन् । जलमाफियाको चलखेलका कारण आयोजना लथालिंग अवस्थामा पुगेको समेत स्थानीयले आशंका गर्न थालेका छन् ।

‘कामको रफ्तार रोकिनुको पछाडि जल माफियाको हात छ,’ नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिको पूर्वअध्यक्ष शेरबहादुर शाहीले भने । हतार हतारमा विकास समिति खारेज गरेर कम्पनी मोडेलमा लैजाने खेल जलमाफियाको डिजाइनमा भएको शाहीले दाबी गरे । कम्पनी मोडालिटीका कारण १० वर्षमा निर्माण सम्पन्न हुने नलगाड २५ वर्षपछि धकेलिने उनको जिकिर छ ।

चालू आर्थिक वर्षमा मुआब्जा वितरणका लागि १ करोड बजेट विनियोजन गरेको आयोजनाले हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण

देशकै ऊर्जा संकट टार्न सहयोगी बन्ने आयोजनाको निर्माणलाई सरकारले पनि कम प्राथमिकता दिएको छ । कम्पनीबाट डीपीआर, प्रसारण लाइन, पहुँचमार्गलगायत आधारभूत कार्य निर्माणमा समेत आलटाल देखिएको छ । डीपीआरको कार्य सुरु भएको डेढ वर्ष बित्दासमेत कार्यक्षेत्रमा ड्रिलिङबाहेक खासै प्रगति हुन सकेको छैन । अस्टे«लियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभी परामर्शदाता कम्पनीले ९४ करोडको लागतमा डीपीआर निर्माणको जिम्मा लिएको छ । ‘परामर्शदाता कम्पनीले ड्याम, टनेल र पावर हाउस डिजाइनका साथै आर्थिक तथा प्राविधिक र वातावरणीय प्रतिवेदन तयार पार्र्ने गरी कामको जिम्मा लिएका हुन् । यसअघि आयोजनाको बाँधस्थल र जलाशय आसपासमा अटोमेटिक एन्ड डिस्चार्ज गेजिङ तथा वेदर स्टेसन स्थापना गर्ने, बिल्डिङ एन्ड क्याम्प प्लान, वाटरसेड म्यानेजमेन्ट प्लान, फाइनानसियल मोडालिटी स्टडी, मार्केट सर्भे, ल्यान्ड एन्ड प्रोपर्टी इन्भेन्टोरी सर्भे, सोसियोइकोनोमिक बेसलाइन सर्भे, हाइड्रोलोजिकल, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेका छन् ।

जलमाफियाको चलखेलका कारण आयोजना लथालिंग अवस्थामा पुगेको भन्दै जाजरकोटवासीले चिन्ता व्यक्त गरेका छन् । सरकारले आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने जाजरकोटवासीको माग छ । पहिलो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा समेत यो अयोजनाको निर्माणमा छिटो बढाउनुपर्ने चुनावी मुद्दा बनेको छ । सबै उम्मेदवारले समेत यो आयोजना निर्माणको काममा गति दिने प्रतिबद्धता जाहेर गरेका छन् । जाजरकोटको त्रिवेनीनलगाड नगरपालिकाको दल्लीमा निर्माण हुन लागेकोे नलगाड मेगा प्रोजेक्टको आर्थिक वर्ष २०७४÷७५ मा ५२ करोड मात्र बजेट रहेको छ । जसमध्ये ३० करोड डीपीआरका लागि खर्च हुने छ । आयोजनाका लागि २ सय मिटर उचाइ तथा ६ वर्ग किलोमिटर क्षेत्रफलको बाँध, १० किलोमिटर सुरुङमार्ग र खगेनकोटको दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछन् ।

राजधानी दैनिकवाट ।





error: Content is protected !!