रुकुममा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

आइतबार बेलुकी ९:५० बजे चौरजहारी नगरपालिका-६, को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६,१०,११,१२,१३ र १४ नम्वर वडाका मतपेटिका बोकेकोको थियो । बम बाटो भन्दा केही माथी परेको थियो । बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति पुर्याएको छैन । बम प्रहारपछि उक्त मतपेटिकाहरु गए राती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ ।
आजउक्त मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मंसिर २१ गतेपछि मत गणना हुने भएकाले सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्णय गरिएको छ ।
सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले मुसीकोट नगरपालिकाको १४, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका १०/१०, सानीभेरी गाउँपालिकाका ९ मतदान स्थलबाट मतपेटिका जिल्लामा आइपुगेको जानकारी दिए । उनका अनुसार चौरजहारी र आठविसकोट नगरपालिकाका १४/१४ र सानीभेरी गाउँपालिकाका २ मतदान स्थलका मतपेटिका आज बेलुका सम्म ल्याइपुर्याइनेछ।
कान्तिपुर वाट ।










