डोल्पामा सुरक्षा ब्यवस्था कडाई,मुख्य नाकामा विशेष चेकजाँच

दुनै(डोल्पा) ५ मंसिर
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मुखमा जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको छ ।
निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सुरक्षा ब्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समुहले गर्ने निर्वाचन विरोधि गतिविधिहरु प्रति पुर्व सतर्कता अपनाउन जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको प्रजिअ केशवराज आचार्यले जानकारी दिनुभयो ।
प्रजिअ शर्माका अनुसार जिल्लाका तीनवटा मुख्य नाकामा विशेष चेकजाँच सुरु गरिएको छ,जिल्लाको त्रिवेणी,चौरीकोट,होर्त खोलामा विशेष चेकजाँच सुरु गरिएको हो ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपुर्ण,निष्पक्ष र मतदाताले स्वतन्त्र पुर्वक मतदान गर्ने वातावरणको सिर्जनागर्न लागि परेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
आसन्न निर्वाचनकालागि तिनवटै निकायका सुरक्षाकर्मीहरु पर्याप्त मात्रामा भएकाले परिचाल पनि विशेष तरिकाले गरिएको उहाँको भनाई छ ।
१८ हजार नौ सय ८९ मतदाता रहेको डोल्पामा ६६ वटा मतदान केन्द्र रहेकाछन् ।त्यसमा ३३ मतदान केन्द्र अति संवेदनशिल, १२ वटा संवेदनशिल र १५ वटा सामान्य रहेको समेत जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
उक्त मतदान केन्द्रहरु सुरक्षा तथा भौगोलिक कठिनाईका हिसावमा अति संवेदनशील र संवेदनशीलको सुचीमा राखिएको कार्यालयको भनाई छ ।
विप्लपको प्रभाव क्षेत्र मानीएको तल्लो डोल्पा र काईके गाँउपालिकामा विशेष सुरक्षा ब्यवस्था परिचालन गरिएको समेत बताईएको छ ।
देशका विभिन्न जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लङघनका घटनाहरु सार्वजानीक भईरहँदा डोल्पामा भने एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
डोल्पामा आसन्न निर्वाचनकालागि ६६ मतदान केन्द्रकालागि ४ सय तिस जना कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
विगतका निर्वाचनहरुमा के कस्तो भयो थाहा नभएकाले यस पटकको निर्वाचनमा सम्पुर्ण ब्यवस्थापन चुस्तदुरुस्त ढङ्गबाट भएकाले सर्वसाधारणहरुलाई ढुक्क भएर मतदान गर्न समेत मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!