अब हुनै पर्ने भयो “नक्कली देखि साबधान”

देशमा स्थानीय चुनाव सकिएको केहि समय नबित्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपहल चलिरहदा कर्णालीका ५ ओटै जिल्लाहरुमा पनि माहोल यति बेला निकै तात्तिएको छ । विशेष गरि जिल्लामा चुनाव भन्दानी बाम गठबन्धनले निकै चर्चा पाएको छ ।

 विगतलाई हेर्ने हो भने बाम गठबन्धनका दुई पाटि एक अर्काका निकै प्रतिस्पर्धी रहेको पाहिन्छ । कति ठाउमा तालमेल नमिल्दा कार्यकर्ता बीच झडप भए पनि अब दुईओटै पाटी एक भइसकेका छन् । जिल्लामा  वाम गठबन्दनको तुलनामा अन्य पाटिको चहलपहल निकै कम देखिन्छ ।

जब चुनाव आउछ तब नेताहरु गाउँ छिर्ने अरु बेला सहर छिर्ने । यो सबै नेताको एक विशेषता नै हो । नेताहरु गाउँ गाउँ छिरेर सोजा जनतालाई फकाउन थालिसकेका छन् । त्यति मात्र कहाँ हो र खसी बोका काटेर जनतालाई देवी देवताको अगाडी धजा छुवाएर पाटि  प्रवेश  गराएको पनि एता कता सुनिन्छ ।यति भनिरहदा पैसा, पावर ,डर,  धम्कि नचल्ने त कुरै भएन । यस्तो परिपाटी  कतिको विवेक पूर्ण कार्य हो सबैलाई सोच्न बाध्य बनाएको छ ।

नेपालीमा एउटा उखानै छ “हग्नेलाई भन्दा देख्ने लाइ लाज”। मलाई यो त अतिनै  भएको हो कि जस्तो लाग्छ । तर पनि सबै तै चुप मै चुप छन् । यस्तै हो भने जनताले हाम्रो नेता भनेर गर्वका साथ् नाक फुलाएर  हिड्ने दिन कल्पनामा मात्र सिमित हुने देखिन्छ ।

कर्णालीको माटोमै जन्मेका  हुर्केका छोरा छोरी सांसद देखि मन्त्रि सम्म नभएका भने होइनन्। तर त्यहाँको अवस्था हेर्ने हो भने जस्ताको त्यस्तै छ । समय परिवर्तन भयो तर नेताहरुको दिमागमा त खै के पो भरिएछ पूर्व हिड्ने मान्छे पश्चिम हिडे जस्तो देखिन्छ । बरु जिल्लाको विकास गर्छु भनेर देवी देवताको अगाडी नेता आफै कसम खाएको भए जनताले पत्याउथे पनि  होला ।  आखिर चाहिएको नै त्यस्तै  हो ।

नेपालमा संकटकालको अन्त्य भएपछीका चुनावहरुमा कर्णालीले धेरै नेतालाई जितायो । सांसद र मन्त्रि पनि बनायो । तर समय अनुसारको उपलब्धि भने खासै केहि देखिदैन ।  अहिले सम्म कर्णालीमा अझै ५२ प्रतिशत भन्दा बढी मान्छेहरु गरिबीको रेखामुनि छन । स्वास्थ्य, शिक्षाको सेवा सुविधाको त कुरै गरेर साध्य छैन ।

कुनै समयमा हाम्रा छिमेकी जिल्लाहरु मनाङ र मुस्ताङ कर्णालीका जिल्ला डोल्पा र हुम्ला सरह नै  थिए । अब अहिले हेरौ कहाँ डोल्पा कहाँ मुस्ताङ छ ।  मुस्ताङ घुम्न नेपाल नगई भाको छैन भन्नेहरुको भिड चलिरहदा कर्णालीको अवस्था हेर्दा मन खिन्न भएर आउछ । भौगोलिक  सुन्दरताको हिसाबले हेर्ने हो भने जति मुस्ताङ छ उत्तिकै कर्णालीका पाच ओटै जिल्लाहरु  सुन्दर छन् ।

अब सोच्नै पर्छ , विकल्प खोज्नै पर्छ । विकल्पनै खोज्ने हो भने जिल्लामा नया जोस्, नया पाटी र नया अनुहार खासै देखिदैनन् । त्यहि भित्र पनि केहि अनुहार आशलाग्दा र सबैले राम्रो भनेका पनि देखिन्छन् । अब आशलाग्दालाई जिताउने हुन की उही उहिलेकालाई जिताउने हुन् सबैलाई चासोकै बिषय बनेको छ । तर स्थानीय चुनावको परिणाम हेर्ने हो भने खासै गतिलो र आशलाग्दो देखिदैन ।त्यसकारण यसपटक पनि फेरी त्यही नतिजा दोहोरिने पो हो कि भन्ने आशंका छ ।

सबैले भन्ने गरेको एउटा भनाइ छ, “हाम्रा लाइ होइन राम्रालाई जिताउ” । आखिर सबैको चाहना पनि त्यहि नै हो । तर यहाँ कसैलाई पैसा प्यारो त कसैलाई आफ्नो प्यारो भइदिन्छ । फलस्वरुप सधै उही पैसा र पावर वालाहरुले जित्ने र सहर पस्ने चलन बसेको छ । कर्णालीका हरेक जिल्लाहरुमा बर्सौ देखि यस्तै भैरहेको छ । यहि प्रबृत्तिले कर्णाली अरुको तुलनामा निकै पछाडी छ । अब सधै यस्तै गल्ति गरिरहने हो भने अब समयले कुन रुप लिन्छ होला हामि सबैले सजिलै अट्कल गर्न सक्छौं ।

सबैको चाहना भनेकै राम्राले जितोस् भन्ने नै हो । हरेक जिल्लाले एउटा असल नेता पाए कर्णालीका लागि केहि राहात पक्कै मिल्ने थियो । त्यसमा कुनै दुई मत नै छैन । पैसा आज आउछ भोलि जान्छ ,तर समयमा सहि नेतृत्व छाने देश बन्छ । देश बने सबैको भविस्य सुनिश्चित हुन्छ । सधै जिल्लामा बसेर ठूला ठूला गफ मार्ने, जनतालाई फसाउने , जिल्लाको विकासका लागि  केहि गर्न नसक्ने, भएका स्रोत साधनको सहि उपयोग गर्न नसक्ने नेता त हामि कसैले चाहेको त छैनौं होला ।

अब आम जनताले बुज्नुपर्ने कुरा के हो भने पितललाई जति लेप्पन गरे पनि त्यो सुन कहिलेई बन्न सक्दैन । पितल पितल नै हुन्छ । पुराना शैली र पुरानै बिचारले परिवर्तन असम्भव देखिन्छ । अब अल्कोहलिक होइन ओर्कहलिक नेताको खाचो छ। त्यसैले सबैले सोच्नै पर्ने हुन्छ । पाटि र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि जिम्मेवार नागरिकको भूमिका खेल्न आवश्यक छ । केहि गर्छु भन्ने नयाँ अनुहार र सबैले राम्रा भनेकाहरुलाई सबैले साथ दिनै पर्ने हुन्छ ।

हेर्दा सुन जस्तै देखिने सबै सुन हुदैनन् । कुनै समान हेर्दा निकै आकर्षक देखिन्छन् तर ति  नक्कली हुन्छन् । त्यसैले विकासको नाममा पैसा, पावर, जागिर मिलाइ दिन्छु भनेर प्रलोभनमा पार्ने, सोजा साजालाई ठग्ने ति सबै नक्कली हुन् । त्यसैले अब सबै जनता हुनै पर्ने भयो “नक्कली देखि साबधान”।

  आविष्कार धरला





error: Content is protected !!