रोल्पामा वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ

गाडीमा सामान्य क्षति भए पनि सबै नेताहरु सकुशल

२५ कात्तिक, रोल्पा । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बतायो ।

माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको रोल्पाका उम्मदेवार वर्षमान पुनले अनलाइनखबरलाई जानकारी दिए ।

पुनले अनलाइनखबरसँग भने– ‘वाम गठबन्धनका उम्मदेवारहरुको हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन विस्फोट गराइए पनि गाडीमा मात्रै सामान्य क्षति भयो, हामी सबै सकुशल छौं ।’

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए ।

एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए ।

विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

-अन्लाइन खबर





error: Content is protected !!