प्रचण्ड र ओलिकाे चेतावनी!’देउबाको चुनाव सार्ने षड्यन्त्र कुनै पनि हालत अमान्य हुने’

काठमाडौं, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको चुनाव सार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । चुनाव सार्ने षड्यन्त्र भईरहेको प्रति लक्षित गर्दै दुवै अध्यक्षले एउटै बोली बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशपछि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने भन्दै आपत्ति जनाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको भन्दै चुनाव सार्न नहुनेमा जोडदिए ।
नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम(कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ ।’
संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नागरिकको मताधिकारको अधिकार सबैले रक्षा गर्नुपर्ने भएकाले सानातिना कुरामा नअल्झिइकन तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोडदिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधि चुनाव सार्ने खालका भएको आरोप लगाउँदै ओलीले लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने आँट नगर्न चेतावनी पनि दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दल र निर्वाचन आयोगको समेत सहमतिमा मतपत्रको ढाँचा निर्धारण गरिएको भन्दै अहिले यो विषय उठाउनु जायज नभएको बताए ।


चुनाव सार्ने चलखेल भएको संकेत पाएपछि अन्तिम समयमा आफूहरुले सरकार नछाड्ने निर्णय गरेको बताउँदै प्रचण्डले केहिदिन अघि सर्वोच्चको संयुक्त इजलासले गरेको गरेको निर्णयविरुद्ध एकल इजलासको बुधबारको निर्णयले चुनाव सार्ने शंका उब्जाएको बताए ।










