केन्द्रीय विद्युत लाईन निर्माण कार्य ढिलाई

जाजरकोट ,विद्युत प्राधिकरणको लापरबाहीका कारण खलंगाको शान्तिचौतारामा केन्द्रीय प्रसारण लाइन अलपत्र परेको छ । सदरमुकामछेउकै प्रसारण लाइन अलपत्र परेपछि यहाँका बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

प्राधिकरणको लापरबाहीले ३ महिनादेखि विद्युत् लाइन अलपत्र परेको हो । गत फागुनभित्र विद्युत् लाइन वितरण गर्ने प्राधिकरणको लक्ष्य थियो । शान्तिचौतारा–थाप्लेचौर सडकमा बिजुलीका तार र ट्रान्स्फर्मर झुन्डयाएको २ महिना बितेको छ । ट्रान्स्फर्मरमा विद्युत् चार्ज गर्ने काम पनि भइरहेको छ । तर घरघरमा विद्युत् जोड्ने कार्य कहिले हुने अनिश्चित बनेको छ । विद्युत् अभावमा यहाँका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् अभावमा उद्योग, व्यापार, बैंकिङ कार्य, पठनपाठन, सरकारी सेवा प्रवाह, पूर्वाधार निर्माणलगायत काममा बाधा पुग्दै आएको प्रजिअ पुष्पराज शाहीले बताए ।

प्राधिकरणका कर्मचारीले दसैंअघि बिजुली बाल्ने व्यवस्था मिलाउने भनेर सेवाग्राहीलाई झुक्याएको प्रजिअ शाहीको भनाइ छ । प्राधिकरणकै लापरबाहीले सुर्खेतको राकमबाट आएको ११ केभी प्रसारण लाइन खलंगामा वितरण गर्न ढिलाइ भएको उनले बताए । खलंगामा तत्काल विद्युत् वितरणको व्यवस्था मिलाउन प्राधिकरणका कर्मचारीलाई ताकेता गरेको उनले बताए । ७ वर्षअघि खलंगा बजारमा पुग्ने लाइन प्राधिकरण तथा व्यवसायीको लापरबाहीले ढिला भएको उनले बताए ।

आगामी चुनाव, जनताको सुविधालाई ध्यानमा राखेर चाँडो विद्युत् जोड्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रजिअ शाहीले बताए । ‘भेरी नदीवारिको सदरमुकाम खलंगा अँध्यारै छ । रुकुमको चौरजहारी र १० किमि परको कुदु भने बिजुली झिलिमिली देखिन्छ,’ उनले भने । प्राधिकरणले कुदुबाटै गत फागुनमा चौरजहारीमा केन्द्रीय लाइन वितरण गरेको थियो ।

चालु आवको खरिद प्रक्रियामा भएको ढिलाइ तथा जनशक्ति अभावले खलंगा विद्युतीकरण कार्य अलपत्र परेको क्षेत्रीय निर्देशक विनोद उपाध्यायले बताए । तिहारअघि नै खलंगामा बिजुली बाल्ने व्यवस्थाका लागि सक्रिय रहेको निर्देशक उपाध्यायले बताए । छिटोछरितो लाइन वितरणका लागि सम्बन्धित व्यवसायी र कर्मचारीलाई खटाएको उनले बताए । प्राधिकरणको जाजरकोट शाखा कार्यालयमा प्रमुखलगायत कर्मचारीको व्यवस्था नहँुदा पनि वितरण कार्य अघि बढाउन समस्या भएको उनले बताए । ‘कार्यालय स्थापना छ, कर्मचारी छैनन्,’ उनले भने ।

कान्तिपुर





error: Content is protected !!