काँग्रेस र नयाँ शक्ति मिले बाबुराम र नारायणकाजीको भिडन्त कस्तो होला

 काठमाडौं– माओवादी केन्द्र र नयाँ शक्तिले आ–आफ्नो दाबी नछाडेपछि गोरखाको क्षेत्र नम्वर २ को चुनावी भीडन्त रोचक हुने सम्भावना बढेको छ । जहाँ नयाँ शक्तिले पार्टी संयोजक डा.बाबुराम भट्टराई र माअ‍ोवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई मैदानमा उत्रार्ने तयारी गरेका छन् ।

आफ्नो पार्टीलाई गोरखा–२ मा नछाडिएको भन्दै नयाँ शक्तिले बामगठबन्धन नकुरी आफै उम्मेद्वारी घोषणा गरेको छ । पाँच जना उम्मेद्वारको नाम घोषणा गर्दा गोरखा–२ मा बाबुरामको नाम छ । गठबन्धन हुँदा सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गरेको नयाँ शक्तिले टिकट बाँडफाँडमा कुरा नमिलेपछि अव आफ्नै चुनावी चिन्ह आँखाबाट चुनाव लड्ने भएको छ ।

बामगठबन्धनमा गडबड भएपछि अव गोरखामा काँग्रेस र नयाँ शक्तिबीचको सम्भावित समीकरणमाथि छलफल शुरु भएको छ । दुवै पार्टीवीच यस विषयमा संवाद शुरु भएको स्रोतहरुले बताएका छन् । गोरखा–१ मा काँग्रेसलाई र २ मा नयाँ शक्तिलाई छाड्ने विषयमा यी दुई पार्टीबीच अनौपचारिक कुराकानी भएको बताइएको छ ।

यदि काँग्रेस र नयाँ शक्तिबीच गोरखामा तालमेल भयो भने गोरखा–२ को अंकगणित के होला ? स्थानीय तहको चुनावमा दलहरुले पाएको मतलाई आधार मान्ने हो भने बामगठबन्धन र काँग्रेस–नयाँ शक्ति समीकरणवीच कडा टक्करको अनुमान गर्न सकिन्छ । गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थिए ।

अव स्थानीय निकायमा दलहरुले पाएको मत हेरौँ ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको गोरखा क्षेत्र नं. २ मा दलहरूले पाएको कुल मत हेर्दा नेपाली काङ्ग्रेसलाई १७,०७० मत प्राप्त भएको छ ।
माओवादी केन्द्रलाई १७,८९४, नेकपा एमालेलाई ७,२०८ र नयाँ शक्ति नेपाललाई ७,९०० मत आएको छ ।

एमाले र माओवादीको मत जोड्ने हो भने गोरखा २ मा स्थानीय तहमा बामगठबन्धनको पक्षमा २५ हजार १ सय २ मत हुन्छ । काँग्रेस र नयाँ शक्तिवीच तालमेल भयो भने २४ हजार ९ सय ७० मत छ । अर्थात काँग्रेस र नयाँ शक्तिसँग भन्दा बामगठबन्धनसँग एक सय ३२ मत बढी छ । यस्तो अंकगणितले दुई घारमा चुनाव भए गोरखा–२ मा निकै पेचिलो चुनावको सम्भावना छ ।

बाबुरामले बुधबार साँझ मात्र फेसबुकमा स्टाट्स लेखेर आफू गोरखा–२ बाट चुनाव लड्न लागेको भन्दै मतदातासँग भोट नै मागेका छन् । ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट म गोरखा क्षेत्र न. २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको छ । त्यसमा कसैले कुनै द्विविधा राख्नुपर्दैन । तीव्र विकास र समृद्धि गोरखाली जनताको मुख्य चाहना र आवश्यकता हो । मेरो पनि रूचि, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने हो । विगतमा छोटो कार्यकालमा पहिले कसैले कहिल्यै नगरेको विकासको पूर्वाधारको प्रारम्भिक जग बसाल्ने काम गरेको छु । अब त्यसलाई पूरा गर्ने जिम्मेवारी गोरखाली जनताले दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।’ बाबुरामको स्टाटसमा छ ।

गत भदौ १९ गते बाबुरामले केही सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । जहाँ पत्रकारहरूले कहाँबाट चुनाव लड्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा बाबुरामको जवाफ थियो– ‘पार्टीको आधिकारिक निर्णय हुन बाँकी छ । म गोरखा २ बाट लड्ने मन बनाएको छु ।’ यहीँबाट बाबुरामले आफ्नो चुनावी मैदानबारे खुलासा गरे । उनी पहिलो संविधानभसामा गोरखा–२ बाट र दोस्रोमा १ बाट चुनाव जितेका थिए ।

बाबुरामले चुनाव लड्ने क्षेत्रबारे आफ्नो धारणा बाहिर ल्याएको १५ दिनपछि माओवादी केन्द्रले पनि उम्मेदवारको सिफारिस गरेको थियो । मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्र गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको थियो । प्रतिनिधि सभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको छ ।

नारायणकाजी श्रेष्ठको नाम यसरी प्रस्ताव भएपछि गोरखा २ मा बाबुराम र नारायणकाजीबीच चुनावी टक्करको सम्भावना बढेको थियो । यदि गठबन्धनमा सहमति बनेन भने बाबुराम र श्रेष्ठबीच भीडन्त हुनेछ । गोरखा दुवै नेताको गृह जिल्ला हो । २०७० को संविधान सभा चुनावमा श्रेष्ठ मकवानपुरबाट चुनाव लडेका थिए ।

राताेपाटिवाट साभार ।





error: Content is protected !!