पूर्वपश्चिम राजमार्गको लौकीमा बस दुर्घटना, ३ को मृत्यु, १० घाइते

विश्वराज पछल्डङ्ग्या
, बाँके ,काठमाडौँबाट धनगढी गइरहेको यात्रुवाहक रात्री बस पूर्व–पश्चिम राजमार्गको कुसुम–अमिलिया सडक खण्डको लौकीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मंगलबार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिका–१, लौकी भन्ने ठाउँमा भएको दुर्घटनामा भएको दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बर बस सडकबाट १० मिटर तल खसेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिए । दुर्घटना स्थल दाङको सीमाना नजिक पर्छ ।
दुर्घटनामा रुद्रेश्वर गाउँपालिका–४, बैतडीकी ४५ वर्षीया बाहिनी बोहरा, नेपाली सेनाको सूर्यदल गण विराटनगरमा कार्यरत रविन्द्र पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने एक जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक पोखरेलले बताए । घाइते १० जनाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना स्थल नेपालगन्जबाट १ सय किलोमिटर पूर्वमा पर्दछ ।



