कांग्रेस उम्मेदवारका लागि त्रिवि उपकुलपतिको नाम सिफारिस !

       नेपाली कांग्रेस चितवनले आसन्न संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि २७७ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया समेत छन् ।

चितवनका ३ निर्वाचन क्षेत्रमा केन्द्रीय संसदका लागि ३ जना र प्रदेशमा ६ जनाका निर्वाचित हुनेछन् । मंसिर २१ गते हुने निर्वाचनका लागि चितवनबाट २ सय ७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारीस गरिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जस्ताको तस्तै केन्द्रीय समितिमा पठाइएको हो । जिल्ला समितिमा नाम काँटछाँट गर्न कुनै पनि नेता तयार भएनन् । ‘कसैको नाम कटाउँदा साथीहरु रिसाउलान् भन्ने डर छ’ एक जिल्ला पदाधिकारीले भने ‘को छुचो हुने, जे गर्छ केन्द्रले गर्छ ।’

सूचीमा मन्त्रीदेखि सांसदहरुसम्म छन् । क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका लागि ५ जना, प्रदेश क्षेत्र ‘क’ मा ७ जना, ‘ख’ मा ३१ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यका लागि ८ जना, प्रदेश क्षेत्र ‘क’ बाट ४ जना, ‘ख’ बाट १३ जना तथा क्षेत्र नः ३ बाट प्रतिनिधिसभामा ८ जना, प्रदेश क्षेत्र ‘क’ बाट १४ जना र ‘ख’ बाट ७ जनाको नाम सिफारीस गरिएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।

कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठको नाम भने प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं. २ (क)बाट सिफारिस भएको छ । सचिव जोशीको नाम प्रदेश सभा सदस्यका लागि क्षेत्र न. २ को ‘ख’ बाट सिफारिस भएको छ । अन्य, नाम समानुपातिक सांसदका लागि सिफारिस भएका छन् ।

त्रिविका उपकुलपति पनि उम्मेद्वारको दावेदार

त्रिभुवन विश्विद्यालयका उपकुलपति तीर्थ खनियाँको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ ।

चितवन निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि उनको नाम सिफारिस भएको हो । उनीसँगै राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलियाको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ ।

 





error: Content is protected !!