‘एमाले र माओवादी एकताबारे कसले के भने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बाबुराम भट्टराई र उपेन्द्र यादवसहित नेकपा माओवादी केन्द्रले एमालेसँग एकता गर्ने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मुलुक र जनताको आवश्यकत्ता भएकोले अब बृहत्त एकताको खाँचो भएको बताए । उनले भने,‘बाबुरामजी पनि एकतामा आउने सहमति भैसकेको छ, उपेन्द्रजीसँगपनि कुराकानी भैरहेको छ।’ त्यस्तै उनले मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लव लगायतका अन्य साना कम्युनिष्ट पार्टीहरु पनि एकता प्रक्रियामा सहभागी हुने विश्वास दिलाए ।
साक्षात्कारमा बोल्दै नेता रायमाझीले राष्ट्रको आवश्यकत्ता समृद्धि भएकोले त्यो लक्ष्य हाँसिल गर्नको लागि पनि कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताए । उनले भने,‘मुलुकले अब १५० वटा पार्टीहरु धान्ने स्थिति छैन, वामपन्थीहरुको जनमत दुई तिहाई छ, त्यसैले हामीले एकता गर्न लागेको हो।’ यद्धपी उनले नेपालमा वामपन्थीहरु कुरा गर्छन् तर जुट्दैनन् भन्ने विगतका आशंकाहरुलाई यो पटक गलत सावित गरेरै छाड्ने स्पष्ट पारे । रायमाझीले थपे,‘अब ती भ्रम र आशंकाहरु सबै क्लियर हुन्छन्।’
संविधान कार्यान्वयन, आर्थिक समृद्धि र स्थायित्वको लागि पनि दुई पार्टीवीचको एकता आवश्यकत्ता भएकोले आफूहरु मिलेको उनको भनाई थियो । उनले भने,‘हुन त हामीले यो विषयमा ०६४ सालमै महशुस गरेका थियौं, त्यतिवेला डकुमेन्ट समेत तयार भएको थियो, के जादु भयो र त्यो एकताको प्रयास भाँडियो, अहिले आएर दुवै पार्टीले त्यो कुरा महशुस गरेका छौं।’
रायमाझीका अनुसार दुवै पार्टीवीचको एकताको पहिलो सुरुवात चुनावी तालमेलबाट सुरु हुनेछ । उनले भने,‘संभव भए आजै चुनावी तालमेलबारे संयुक्त पत्रकार सम्मेलन हुन्छ, नभए एक दुई दिनभित्रै हुन्छ, तर ढुक्क हुनुहोस अब ढिलो हुँदैन्।’ यद्धपी उनले एमालेसँगको एकतापछि वा गठबन्धनपछि कुनै चमत्कार भए फेरि सरकार तलमाथि हुन सक्नेतर्फ संकेत गराए ।
एकता कसैले चाहेरपनि भाँड्न सक्दैन
नेकपा एमालेका नेता यज्ञ सुुनुवारले एमाले र माओवादीवीचको एकता कुनै अवसरको लागि नभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो त समयको माँग हो, अहिले एकताको निर्णयसँगै राजनीतिमा खासगरी वामपन्थीहरुवीच उर्जा पैदा भएको छ।’
मुलुकलाई आर्थिक क्रान्तिको दिशातर्फ अघि बढाउनको लागि वामपन्थीहरुवीचको बृहत्त एकता आवश्यकत्ता भएर नै अहिले सुरुवातमा माओवादी र एमालेवीच एकता हुन लागेको उनले जनाए ।
साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि हाम्रो एकता महत्वपूर्ण छ।’ ७० वर्षे लामो नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहाँसमा अहिलेसम्म कम्युनिष्टहरुले बहुमत ल्याउन नसकेकोले अब मुलुकलाई एकपटक आर्थिक क्रान्तिको बाटोमा अघि डोर्याउनको लागि यो एकता अर्थपूर्ण रहेको उनको भनाई थियो ।
यद्धपी उनले एकता घोषणा भन्ने कुरा एकै रातमा हुने कुरा नभएको स्पष्ट पारे । उनले भने,‘अहिले वैचारिक रुपमा छलफल भएको छ, आम जनताको चाहना हो, दुवै पार्टीका नेतृत्वले अत्यन्तै संयम भएर अहिले कदमहरु चालिरहनुभएको छ, विरोधीहरुले एकता भाँड्न चलखेल गर्नु स्वभाविक हो, तर हामी होशियार भएर लागेका छौं।’ उनले दुवै पार्टीवीचको एकताको प्रयास गर्वको विषय भएको बताए ।
कम्युनिष्टहरु मिल्नु अत्यन्तै स्वागतयोग्य
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्टहरु मिल्नुको अत्यन्तै स्वागतयोग्य कुरा भएको भन्दै प्रशंसा गरेका छन् । उनले भने,‘उहाँहरु मिल्नु त खुशीको कुरा हो, यसमा हामी स्वागत नै गर्छौं ।’
रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले कांग्रेसपनि अब विचार मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामीसँग मुद्दा मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्छौं।’
साक्षात्कारमा बोल्दै नेता खतिवडाले वामपन्थीहरुको एकता आफूहरुले यसअघिका ०५४, ०६४ र ०७० को चुनावमा देखेको भन्दै कांग्रेस यसबाट नआँत्तिने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आँत्तिएर माओवादीलाई ६० र ४० को भागबण्डाको प्रस्ताव गरेको समेत उनको आरोप थियो ।
उनले मुलुक अहिले कांग्रेसको सिद्धान्तको नेतृत्वमा रहेकोले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको, कांग्रेसकै नेतृत्वमा २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अहिले संविधान कार्यान्वयनको चरण रहेकोले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने विश्वास दिलाए । उनले भने,‘ढुक्क हुनुहोस्, फेरि पनि जनताले कांग्रेसलाई प्रिय पार्टी बनाउनुहुनेछ।’
स्वागतयोग्य
राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेवीचको एकताको स्वागत गरेका छन् । उनले भने,‘पार्टीहरु मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’
साक्षात्कारमा बोल्दै उनले पार्टी एकतालाई लिएर आफूहरु खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे । उनले वामपन्थी एकता हुनु भन्दापनि दलहरु एक हुनु खुशीको कुरा भएको टिप्पणी गरे । फरक प्रसँगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्न आफूहरु खुल्ला रहेको स्पष्ट पारे ।
आत्तिनु पर्दैन
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकताको तयारीप्रति पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनीहरुले बाम तालमेलबाट आत्तिनुपर्ने अवस्था नभएपनि यसले भविश्यमा प्रजातान्त्रिक शक्तिहरुलाई पनि एक हुन दवाव बढेको बताएका छन् ।
‘बाम तालमेल र एकताले राजनीतिक धु्रवीकरण अवश्य ल्याउँछ । त्यसैले सन्तुलित राजनीतिका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता गर्न बाध्य बनाउछ ।’ राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले भने, ‘अव लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैन, १५ बर्षअघि नै स्वर्गीय सूर्यबहादुर थापाले शसक्त प्रजातान्त्रिक शक्तिको आवश्यक्ता रहेको बताउनुभएको थियो त्यो कुरा अहिले आएर पुष्टि हुदैछ ।’
राप्रपाका सहमहामन्त्री राजाराम बर्तोलाले बाम धु्रविकरणको पिक्चर क्लियर भैनसकेको भन्दै बाम तालमेलेको गृहकार्यले राष्ट्रबादी शक्तिहरुवीच एकताको आवश्यक्ता बढेको बताए । उनले कुनैपनि दलबीचको एकता प्राकृतिक हुनुपर्ने भन्दै त्यस्तो एकताले मात्र देशको हित हुने बताए ।



