एमालेसँग चुनावी तालमेल होइन, पार्टी एकता हुनसक्छ: माओवादी नेता पुन

नवीन लोचनमगर, रोल्पा
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एमालेसँग तालमेलभन्दा पनि पार्टी एकता हुनसक्ने खुलासा गरेका छन् । प्रेस सेन्टर नेपाल रोल्पाको लिवाङमा आइतबार गरेको पत्रकार सम्मेलनमा पुनले एमालेसँग तालमेलभन्दा पार्टी एकता गर्न सजिलो भएको बताएका हुन् । मुद्दाका हिसावले पनि दुवै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले पार्टी एकताको सम्भावना रहेको उनले खुलासा गरे । दुवै पार्टीले पुँजीवादी क्रान्ति पुरा भएको र अब समाजवादी क्रान्ति पुरा गर्न अगाडि बढ्ने बताएका छन्’ पुनले भने ‘दुवैको बाटो मिल्न खोजेकाले पार्टी एकता हुनसक्छ ।’ एमाले र माओवादीले अब समाजवादी क्रान्तिको बारेमा बहस गर्नुपर्ने उनको भनाई छ ।
थ्रेस होल्ड तथा सबै हिसावले अब पार्टीहरु बिस्तारै साँघुरिदै गएको उनले बताए । निर्वाचन प्रक्रिया सकिँदासम्म नेपालमा पाँच÷छवटा पार्टीमात्र रहने भन्दै अनन्तले अन्ततः नेपालमा मजदुर पुजीपतिको समर्थनमा दुई विचार मात्र रहने बताए । निर्वाचन प्रणालीका हिसावले केही पार्टी अस्थित्वमा रहे पनि विचारका हिसावले दुई वा तीनवटा शक्तिमात्र रहने उनले बताए ।
तीन प्रदेशमा मुख्यमन्त्री माओवादी
पुनले सात प्रदेशमध्ये तीनवटा प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्ने बताएका छन् । मत संख्याको अनुपातलाई हेर्दा पनि माओवादीले तीनवटा प्रदेशमा पाँचवर्ष नेतृत्व गर्ने उनको दावी छ ।‘ प्रदेश नम्बर ५, ६ र २ मा पहिलो सरकारको नेतृत्वमा हाम्रो दावी रहन्छ’ पुनले भने ‘कांग्रेस, एमालेसँग कुनै पनि प्रदेशमा सेटमा तालमेल हुँदैन, स्थिती हेरेर जहाँ जोसँग निकट भइन्छ त्यहीसँग हुन्छ ।’ केन्द्रीय र प्रादेशिक चुनावमा तालमेलको सम्भावना ठूला तीन दलमा न्यून रहेको उनले बताए ।
माओवादी पहिलो पार्टी बन्ने लाइनमै रहेकाले कोहीसँग तालमेल नगरेर एक्लै पनि लड्नसक्ने अनन्तले बताए । ‘आधार, योग्यता, एजेण्डा पहिलो पार्टी बन्नका लागि माओवादीसँग छ’ पुनले भने ‘हामी स्वतन्त्र रुपले निर्वाचनमा जान पनि सक्छौं ।’ हरेक पार्टीमा आकांक्षी धेरै भएकाले पनि त्यसको सम्भावना नरहेको उनको भनाई छ । निर्वाचनबाट जित मात्र नभएर नेतृत्व स्थापित समेत हुने भएकाले कुनै पनि पार्टीले अर्को पार्टीको नेतृत्वलाई काँध थापेर जान सकिने अवस्था नरहेको उनले स्पष्ट पारे । कांग्रेस एमाले मिल्ने सम्भावनानै नरहेको ठोकुवा समेत गरे । अनन्तले माओवादी केन्द्रले विकास र आर्थिक समृद्धिको मुख्य एजेन्डासहित घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए ।
५ नम्बर प्रदेश राजधानी दाङ उपयुक्त
माओवादी नेता वर्षमान पुनले प्रदेश नम्बर पाँचको राजधानी दाङ नै हुने दोहोर्याएका छन् । ‘भौगोलिक सुगमताका अनुसार दाङ नै उपयुक्त छ’ उनी भन्छन् ‘दाङ राजधानी बनाएर बाँकी सबै जिल्लालाई आ–आफ्नै विशेषताअनुसार बराबरी विकास गर्नुपर्छ ।’ नेताहरुले आफूअनुकुल राजधानीको कुरा गरे पनि त्यो राजनीतिक कुरा मात्र भएको अनन्तले टिप्पणी गरेका छन् । बुटवल र दाङको बहस जायजै भएको तर यी दुई शहरको कुरा नमिले नयाँ ठाउँमा समेत राख्न सकिने उनले बताए । उनले दुई ठूला शहरको मतभेदले भालुबाङ–बाङ्गेसाल क्षेत्रमा पनि राजधानी हुनसक्ने बताए । पाँच नम्बर प्रदेशमा कसैको पनि दुई तिहाई बहुमत नभएकाले राजधानी र नामका विषयमा राजनीतिक समझदारीले नै टुंगो लाग्ने उनले बताए ।
पार्टीभित्र सामान्य समझदारी भइसकेकाले आगामी निर्वाचनमा कृष्णबहादुर महरा दाङबाट र आफू रोल्पाबाट निर्वाचन लड्ने समेत पुनले बताए । प्रदेशका लागि भने कुलप्रसाद केसी, जोखबहादुर महरा र दीपेन्द्र पुनमगरमध्ये दुईजनाले निर्वाचनमा उम्मेदवारी दिने पुनले बताए ।
जनताको भावना नकुल्चन नेकपालाई आग्रह
नेता वर्षमान पुनले नेकपालाई जनताको भावना लिएर अगाडि बढ्न सुझाव दिएका छन् । गाउँपालिका अध्यक्षलाई अपहरण गरेर अराजनीतिक कार्य गरेको भन्दै उनले जे गरे पनि घोषित रुपमा गर्न आग्रह गरे । ‘नीति एकातिर छ व्यवहारमा तर्साउने र पकेट खर्च जोड्ने भइरहेको छ’ अनन्तले भने ‘गिट्टी बालुवा, योजनाको उपभोक्ता समितिमा हाम्रो अनुसार गर्नुस् भनेको पनि कमिशनखोर हो ।’ जे गर्ने हो जनतालाई त्यही भनेर अगाडि उनले नेकपालाई आग्रह गरे । त्यस्तै अपहरणमा परेका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले पनि जनताले अर्को सत्ताको आवश्यकता नदेखेको बताएका छन् । आफूलाई अपहरणमुक्त गर्दा केही नभनेको तर पछि सशर्त मुक्त गरेको भन्ने भ्रम फैलाइएको भन्दै उनले त्यस्ता अपवाह नफैलाउन नेकपालाई आग्रह गरे । अर्को सत्ताको नामबाट भन्दा पनि राजनीतिक शक्ति वा जनताको तर्फबाट सुझाव, माग राख्न समेत उनले नेकपालाई आग्रह गरे ।



