स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन नियम परिमार्जन गर्ने सरकारको निर्णय

        सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्तामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्ने सहमति भएको छ । यस सहमति पछि पनि चिकित्सकको आन्दोलन भने यथावत छ ।

बुधबार दिनभर स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसमेतको सहभागीतामा चिकित्सकका प्रतिनिधिहरुसँग वार्ता भएको थियो । वार्तापछि मन्त्री पोखरलले आह्वानपत्र जारी गरेका छन्, जसमा आन्दोलनरत चिकित्सकहरुको माग अनुसार नै ऐन र नियमावली परिमार्जन गर्ने प्रतिवद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ ।

आहृवान पत्रमा लेखिएको छ, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्वन्धी नियमावली २०६९ लाई यथाशक्य चाँडो परिस्कृत गर्ने निर्णय गरेको छ ।’

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति दिई कामको वातावरण बनाउनु सरकारको महत्वपूर्ण जिम्मेवारी हो भन्दै मन्त्री पोखरेलले सोही जिम्मेवारी वोध गरी ऐन र नियमावली परिमार्जनको निर्णय गरिएको स्पष्ट पारेका छन् ।

ऐन तथा नियमावली परिमार्जनका लागि एक समिति समेत गठन भइसकेको छ । समितिमा चिकित्सक संघका प्रतिनिधि र अन्य सरोकारवालाहरुलाई समावेश गरिएको छ । समितिबाट ऐन संशोधन मस्यौदा प्राप्त हुनासाथ मन्त्रिपरिषदमा लैजाने मन्त्री पोखरेलको प्रतिवद्धता छ ।

हेर्नुस् स्वास्थ्य मन्त्री पोखरेलको आह्वानपत्र

बिरामीको उपचारको क्रममा मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति व्यहोर्ने निर्णय मन्त्रिपरिषद बैठकले यही असोज २ गते गरेपछि देशभरका चिकित्सकहरुले आन्दोलन गरेका छन् । उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि अत्यावश्यक उपचार सेवा पाउनबाट बिरामीहरु बञ्चित भएका छन् ।

चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय फिर्ता लिनुपर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने र विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग आन्दोलनको अगुवाई गरिरहेको नेपाल चिकित्सक संघले राखेको छ ।

यसैबीच चिकित्सकहरु आन्दोलनमै उत्रिएका बेला भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल साहमाथि हातपात भएको छ ।

९० वर्षीय एक वृद्धलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि डा. साहले आफूहरु आन्दोलनमा रहेकाले इमर्जेन्सी बाहेकको सेवा दिन नसकिने बताएका थिए । सोही समयमा ती वृद्धलाई स्ट्रोक भएको थियो । त्यसपछि आक्रोशित बिरामीका आफन्तले डा. साहमाथि हातपात भएको बताइएको छ । हातपात संलग्न भएको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   -अनलाइन खबर





error: Content is protected !!