गोरखा पुगेका प्रचण्डले भने- ‘अलग बस्नुको औचित्य छैन, बाबुरामले छाडे तालमेल हुनसक्छ

गोरखा । पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि बुधबार गोरखा पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने प्रदेशसभा र संघीय निर्वाचन निर्वाचनमा पार्टीले लिने तालमेल नीतिबारे मुख खोलेका छन् ।
प्रचण्डले प्रदेशसभा र संघीय निर्वाचनका लागि आफ्नो पार्टीले लोकतान्त्रिक गणतन्त्र पक्षधर जो कसैसँग पनि तालमेल गर्न सक्ने बताएका छन् ।
गोरखामा प्रेस सेन्टरले आयोजना पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले स्थानीय तहका तीनै चरणका निर्वाचनमा कांग्रेस, एमाले, मधेसकेन्द्रित र साना दलसँग पनि तालमेल भएको छ, संघ र प्रदेशको निर्वाचनमा पनि एउटै दलसँग तालमेल गर्ने हाम्रो नीति छैन,’ प्रचण्डले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो-कसैसँग पनि तालमेल हुन सक्छ, यसमा हामी खुला छौं।’ भनेका छन् ।
बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालसँग माओवादीको तालमेल हुन्छ ?
भन्ने पत्रकारहरुको जिज्ञासामा प्रचण्डले, भने, ‘अहिलेकै अवस्थामा तालमेलको सम्भावना छैन तर, बाबुरामजी छोड्नुभयो भने तालमेल हुन्छ।’ त्यस्तै, प्रचण्डले संघको चुनावमा आफू चितवनबाट नै चुनाव लड्ने बताएका छन्। चितवनबाट चुनाव लड्ने यसअघि नै घोषणा गरेका उनले भने, ‘मेरो चाहना चितवनबाटै निर्वाचन लड्ने हो तर, चितवनको कुन निर्वाचन क्षेत्र भन्ने कुरा पार्टीले टुंगो लगाउँछ।’
निर्वाचनअघि सरकार फेरबदल हुँदैन त्यस्तै प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारले नै मंसिरमा हुने चुनाव गराउने बताएका छन्। उनले भने, ‘चुनाव यही सरकारले गराउँछ निर्वाचनअघि सरकार फेरबदलको कुनै सम्भावना छैन, माओेवादीका लागि सरकारभन्दा निर्वाचन प्राथमिकतामा छ।’
माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी नेपाल बनाएका गोरखाका नेता बाबुराम भट्टराईलाई प्रचण्डले एकता प्रक्रियामा आउन आग्रह गरे। उनले भने, ‘हामी फुट्दा कसलाई फाइदा पुगेको छ त्यो सबैले बुझेकै कुरा हो। बाबुराम, विप्लव र वैद्यजीहरु र माओवादी केन्द्र अलग बस्नुको औचित्य सकिएको छ सबै एक हुनुपर्छ।’ त्यस्तै, प्रचण्डले स्थानीय तहको निर्वाचनले देशलाई एकताबद्ध गरेको बताएका छन्।



