अपराध न्यूनीकरणको तयारी

जाजरकोट । ६ नम्बर प्रदेश प्रहरीले अपराध न्यूनीकरणमा सबैको योगदान हुने गरी कार्यक्रम ल्याउने तयारी थालेको छ । आपराधिक घटना समाजभित्रै हुने भएकाले समुदायका सबैले त्यसको न्यूनीकरणका लागि भूमिका खेल्न सक्ने भनेर त्यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्ने तयारीमा प्रदेश प्रहरी रहेको छ । ६ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले अपराध न्यूनीकरण गर्न यहाँका १० वटै जिल्लाका नागरिकले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘यहाँ प्रहरीले मात्रै केही गर्न सक्ने अवस्था छैन,’ एआईजी चन्दले भने, ‘सबै नागरिकको भूमिका प्रभावकारी हुन सके अपराध स्वत न्यूनीकरण हुन्छ ।’ अपराध न्यूनीकरणमा सबैको भूमिका नदेखिएसम्म त्यो कोरा कल्पनामात्रै हुने भन्दै उनले त्यसका लागि जसले जे सक्छ त्यही गर्नुपर्ने भनाइ उनको छ ।
शान्ति सुरक्षा र प्रहरीको आचरण व्यवहारको अवस्था बुझ्न जाजरकोट आएका चन्दले सोमबार बिहान जिल्लास्थित सरोकारवाला निकाय प्रमुख तथा प्रतिनिधिलाई अपराध न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेका हुन् । ‘यो अपराध तपाईंहाम्रै बीचमा छ,’ उहाँले भन्नुभयो , ‘यसको न्यूनीकरणका उपाय पनि हामीसँगै छ खाली हाम्रो आँखाले त्यसरी हेर्न नभ्याएको मात्र हो ।’

शिक्षकले विद्यार्थीलाई, अभिभावकले छोराछोरीलाई, कर्मचारीले सेवाग्राहीलाई अपराध, यसका कारण र न्यूनीकरणका विषयमा सिकाउनुपर्ने उनको भनाइ छ । प्रहरी अब प्रत्येक जिल्लामा सुरक्षा कक्षा सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा शिक्षक पनि राखेको उनले बताए ।





error: Content is protected !!