सडकमा भेटिएको घोरल जंगलमा छोडियो

जाजरकोट , छिन्चु जाजरकोट सडकको भुरचौर स्थित सडकमा भेटिएको घोरल जंगलमा लगेर छोडिएको छ । नेपालगञ्जबाट खलंगा तर्फ आउँदै गएको ना ६ ख ४२१७ नम्बरको बसले शनिवार रातीको समयमा बाटोमा बसिरहेको घोरल फेला पारेको थियो ।
यात्रुले घोरललाई मार्न खोजेका थिए तर बसमा सवार जिल्ला बन कार्यालयका बन रक्षक रुद्रबहादुर शाही र सोही बसका चालकले घोरललाई छोपेर जिल्ला बन कार्यालय पुरयाएका थिए । सम्बन्धित निकाय सँगको परामर्शमा घोरलको प्राकृतिक बास स्थानमा नै छोडिदिने भन्ने निर्देशन बमोजिम आईतवार स्थानिय प्रशासनको रोहवरमा पुनः भुरचौरको जंगलमा छोडिएको निमित्त कार्यालय प्रमुख ऋषभदेव खनालले बताए । करिव एक बर्षको भाले घोरल चार फिट लम्बाई र साढे दुई फिट उचाईको रहेको निमित्त प्रमुख खनालले जानकारी दिए । घोरल स्वस्थ नै रहेको छ ।
सो घोरल गाडीको लाईटले भाग्न नसकेको उनले बताए । संरक्षित जंगली जनावरको सुचीमा रहेको घोरल केही बर्ष पहिले धेरै पाईने गरेकोमा चोरी शिकारी र बनजंगल विनासका कारण पछिल्लो समय लोप हुदै जान थालेका छन् ।



